
काठमाडौं । नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा अन्तरिम सरकारको नेतृत्व गरिरहेकी सुशीला कार्कीलाई भारतले खुलेर समर्थन जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्कीसँगको टेलिफोन वार्तामा नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्न भारत नेपाल सरकारसँग सधैं काँध मिलाएर उभिने बताएका छन् । मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्की नेतृत्वको सरकारलाई भारतको बलियो समर्थन रहेको पुनः स्पष्ट पारेका हुन् ।
उनले भने, ‘नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो । हालै भएको दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उहाँको प्रयासमा भारत दृढतापूर्वक साथ दिन्छ ।’ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेपालको नेतृत्व सुशीला कार्कीले ग्रहण गरेकी थिइन् ।
पदभार सम्हाल्ने बित्तिकै मोदीले उनलाई बधाई दिँदै नेपालको शान्ति, प्रगति र समृद्धिप्रतिको भारतको प्रतिबद्धता जनाएका थिए । मणिपुरबाटै उनले कार्कीलाई शुभकामना दिँदै भनेका थिए, ‘हिमालयको काखमा बसेको नेपाल भारतको नजिकको मित्र हो । हामी साझा इतिहास र अवस्थाबाट जोडिएका छौँ । नेपालका अन्तरिम प्रधानमन्त्री पद सम्हाल्नु भएकोमा १ सय ४० करोड भारतीयको तर्फबाट सुशीलाजीलाई बधाई दिन्छु । आशा छ, उहाँको नेतृत्वमा नेपाल शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढ्नेछ ।’
मोदीले नेपालले पहिलो महिला प्रधानमन्त्री पाउनु महिलाको सशक्तीकरणको ठूलो उपलब्धि भएको पनि उल्लेख गरेका थिए । उनका अनुसार नेपालको यो नयाँ अध्याय केवल राजनीतिक मात्र नभई सामाजिक रूपान्तरणको सन्देश बोकेको छ । यसरी भारतले देखाएको समर्थनले कार्की नेतृत्वको सरकारलाई थप अन्तर्राष्ट्रिय विश्वास हासिल हुने अपेक्षा गरिएको छ ।
























