जेनजीले खोज्यो सरकारमा ५० प्रतिशत प्रतिनिधित्व

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २, बिहीबार १८:०१

काठमाडौं । जेनजी नेपालले वर्तमान सरकारमा आधा हिस्सेदारी खोजेको छ । जेनजीले ५० प्रतिशत प्रतिनिधित्व अनिवार्य हुनुपर्ने माग गरेको हो ।

जेस्मिन ओझाको नेतृत्वमा गएका जेनजी नेपालका प्रतिनिधिहरूले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ७ बुँदे माग राखेका हुन् । प्रतिनिधिहरूले सरकार सञ्चालनका प्रत्येक तहमा जेनजीको उपस्थिति सुनिश्चित गर्नुपर्ने भन्दै मन्त्रालय, संवैधानिक आयोग, उच्चस्तरीय सल्लाहकार समिति, राजदूत नियुक्ति, मुख्य सचिव र सचिवालयमा समेत जेनजीको आधा प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

त्यस्तै, जिल्लास्तरीय संरचनामा समेत जेनजीको पकड कायम हुनुपर्ने उनीहरूको अडान छ । उनीहरूले जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका कार्यकारी प्रमुख, लेखापाल, भन्सार, मालपोत र न्यायालयका प्रमुख पदहरूमा समेत जेनजीको सिफारिसअनुसार नियुक्ति गर्नुपर्ने सर्त राखेका छन् ।

जेनजी नेपालले नागरिक समाजबाट पनि ५ प्रतिशत प्रतिनिधि सरकारमा सहभागी गराउनुपर्ने माग राखेको छ । साथै, जिल्ला समन्वय समिति तत्काल खारेज गर्नुपर्ने प्रस्ताव पनि उनीहरूले अघि सारेका छन् ।

यसरी सरकारदेखि स्थानीय तहसम्मका नियुक्ति, सञ्चालन र नीति निर्माणमा जेनजीको आधा उपस्थितिलाई अनिवार्य गर्ने अडान सार्वजनिक भएपछि यसले राजनीतिक वृत्तमा ठूलो तरंग ल्याउने देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.