
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान राजनीतिक व्यवस्था असफल भएको निष्कर्ष निकालेको छ । पार्टीले विगतमा पटक–पटक उठाउँदै आएको प्रश्नलाई पछिल्ला घटनाक्रम र जनआन्दोलनहरूले थप पुष्टि गरेको दाबी गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘हामीले पहिले नै यो व्यवस्था असफल हुन्छ भनेर उद्घोष गरेका थियौँ । अहिलेको नेतृत्व र उसले ल्याएको व्यवस्था वास्तवमै असफल भइसकेको प्रमाणित भएको छ । पछिल्ला जेनजीहरूको प्रदर्शनले हाम्रो भनाइलाई अझ प्रष्ट पारेको छ ।’
बैठकले अहिलेकै संविधानबाट मुलुकलाई अघि बढाउन खोज्नु पुनः असफलतातर्फ धकेल्नु मात्र हुने ठहर गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीले देशलाई दीर्घकालीन द्वन्द्वमा जानबाट जोगाउन, अनावश्यक धनजनको क्षति रोक्न र नेपालको सार्वभौमसत्तालाई भूराजनीतिक चक्रव्यूह तथा वैदेशिक हस्तक्षेपबाट सुरक्षित राख्न नयाँ राजनीतिक समझदारी अपरिहार्य भएको निष्कर्ष निकालेको छ ।
राप्रपाले मुलुकलाई स्थिरता, सुशासन र समृद्धिको दिशातर्फ लैजान अब विद्यमान संविधान र राजनीतिक अभ्यासमा मात्र अडिन नसकिने भन्दै सबै राजनीतिक शक्तिहरूबीच नयाँ प्रकारको सहमति आवश्यक रहेको बताएको छ । नेपालको निर्णायकत्व नेपाली जनताकै हातमा रहनुपर्ने हो र त्यसका लागि विद्यमान व्यवस्थाको विकल्पबारे गम्भीर छलफल सुरु हुनुपर्ने समय आएको राप्रपाको दाबी छ ।

























