
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय एकता कायम गरी संविधानको रक्षा गर्न आग्रह गरेका छन् । संविधान दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले आवेग र उत्तेजना तथा प्रतिशोधको भावनाभन्दा माथि उठेर राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्ने बताए ।
राजनीतिक स्थिरताका लागि समाजमा अमनचयन, शान्ति, सुव्यवस्था कायम राख्दै आपसी सद्भाव र एकतालाई थप सुदृढ बनाउनु पर्ने उनकाे भनाइ छ ।
संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरुलाई संविधान संशोधनका माध्यमबाट निराकरण गर्नुपर्ने आवश्यकता महसुस भएको मुख्यमन्त्रीले उल्लेख गरे ।
लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय र समावेशिता तथा समानताका अवधारणालाई अंगीकार गरेको वर्तमान संविधानको रक्षा गर्न राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीले हातेमालो गर्नुपर्ने उनले बताए ।
मुख्यमन्त्री कार्कीले युवाहरुको माग, दबाब र स्वाभाविक आक्रोशलाई सकारात्मक रुपमा ग्रहण गरी देश र जनताको हितमा सदुपयोग गर्नु सबैको दायित्व भएको बताए । कार्कीले कोशी प्रदेश सरकार समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए ।
























