
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने कठिन निर्णय कुनै व्यक्तिगत इच्छा नभई देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउने संकट समाधान गर्ने साझा सहमतिबाट भएको दाबी गरेका छन् ।
संविधान दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ चुनावमार्फत ६ महिनाभित्र जनताको नयाँ प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले दलहरूबीच सहकार्य र जनताप्रतिको उत्तरदायित्वलाई बलियो बनाउन आग्रह गर्दै भने, ‘यो संविधानले हामीलाई स्वतन्त्रता, समानता र सर्वभौमसत्ता दिएको छ । सबै जात, धर्म र सम्प्रदायका नेपालीलाई समान हक दिलाएको छ । यो हामीले प्राप्त गरेको युगीन उपलब्धि हो । त्यसैले यसको रक्षा सबैले मिलेर गर्नुपर्छ ।’
उनले लोकतन्त्रको सबलीकरण हरेक पुस्ताको सक्रियताबाट हुने विश्वास व्यक्त गर्दै आफ्नो राजनीतिक जीवनको स्मरण समेत गरे । सन् २०१७ सालको प्रजातान्त्रिक आन्दोलनमा १७ वर्षको उमेरमै सक्रिय भएको अनुभव सुनाउँदै उनले भदौ २४ गतेपछि उत्पन्न राजनीतिक रिक्तता सम्हाल्न आफूलाई बाध्य बनाएको परिस्थितिबारे बताए ।
‘राजनीतिक असहजतालाई सबैको सुझबुझ, सहकार्य र समन्वयले मात्रै समाधान गर्न सकिन्छ । त्यो प्रक्रिया हामीले अपनाएका छौं,’ उनले भने । राष्ट्रपति पौडेलले आन्दोलनबाट अकल्पनीय मानवीय र भौतिक क्षति भएको बताए ।
‘छोराछोरीको अभिभावकका रूपमा म जीवन गुमाउने ती युवाका आमाबुबाको पीडा अनुभव गर्न सक्छु । मुलुकले कर्णधार गुमाउँदाको क्षति अपूरणीय छ,’ उनले भने । संविधान दिवसमा पौडेलले सडकमा उत्रिएका युवाहरूको चेतना र सदिच्छाप्रति सम्मान प्रकट गर्दै मुलुकलाई फेरि नयाँ सपनासहित परिवर्तनको मार्गमा अघि बढाउन सबैलाई आह्वान गरे ।
























