
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । तर, स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार (असोज ५) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदलीको सम्भावना छ । बाँकी भूभागमा आंशिक बदलीको पूर्वानुमान छ ।
साधारणतया बदली भनेको ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो । ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई आंशिक बदली भनिने महाशाखाले जनाएको छ ।
दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई भूभागका एक–दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ ।

























