माओवादी पुनर्गठनमा प्रचण्डको ४ बुँदे प्रस्ताव

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ५, आइतबार १६:१३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई पुनर्गठन गर्ने उद्देश्यसहित ४ बुँदे प्रस्ताव अघि सारेका छन् ।

पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले हालको नेतृत्व संरचना विघटन गरेर विशेष महाधिवेशनमार्फत नयाँ संरचना बनाउनुपर्ने निष्कर्ष प्रस्तुत गरेका हुन् । प्रचण्डले १ साताभित्र केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने र त्यसपछि महाधिवेशन आयोजक समिति गठन गर्ने योजना सुनाए ।

उनका अनुसार अध्यक्षसहित हालका सबै पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति भंग गरेर आयोजक समितिमा रूपान्तरण गरिनेछ । त्यही आधारमा तल्लो तहदेखि अधिवेशन गर्दै मंसिरभित्र केन्द्रमा विशेष महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।

विशेष महाधिवेशनबाट नयाँ संरचना निर्माणसँगै पार्टीमा युवाको बहुमत सुनिश्चित गर्ने, महिला, दलितलगायत समुदायको सशक्त प्रतिनिधित्व हुने संकल्प प्रस्ताव ल्याउने र अध्यक्षसहित पदाधिकारीलाई प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने प्रचण्डको प्रस्ताव छ । उनले महाधिवेशनको तयारीसँगै आगामी मध्यावधि निर्वाचनको तयारी पनि समानान्तर रूपमा लैजानुपर्ने भन्दै उम्मेदवार छनोट प्रक्रियामा नयाँपन ल्याउने र व्यापक छलफल गरेर जनताले रुचाएका व्यक्तिलाई अघि सार्ने आवश्यकता औंल्याए ।

बैठकमा उनले फागुन २१ को निर्वाचन सफल बनाउन वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए । साथै, हालैको जेनजी आन्दोलनपछि मुलुक गम्भीर संकटमा परेको उल्लेख गर्दै प्रचण्डले यसलाई सम्हाल्ने जिम्मा माओवादीकै काँधमा आएको दाबी गरे ।

कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली विगतमै लागू भएको भए हालको आन्दोलन देशले भोग्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो । उनले तत्काल त्यसलाई सम्बोधन गर्दै राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र मुलुकको स्थायित्वका लागि माओवादी अग्रसर हुनुपर्ने निष्कर्ष बैठकमा प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.