कांग्रेसको केन्द्रीयसहित ४८ जिल्ला कार्यालय र ३६ केन्द्रीय नेताको घरमा आगजनी

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ५, आइतबार १७:००

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुर्याएको छ । जेनजी आन्दोलनका नाममा आन्दोलनकारीले कांग्रेसको केन्द्रीय कार्यालयदेखि ४८ जिल्लाका पार्टी कार्यालय जलाएर ध्वस्त बनाएका छन् ।

त्यस्तै, ९५ जना जिल्ला तथा स्थानीय तह तथा ३६ जना केन्द्रीय नेताको घरसमेत आन्दोलनका क्रममा जलेको विवरण आइतबार पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सूची अनुसार पार्टीको केन्द्रीय कार्यालयमा आगजनी भएको छ ।

झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, ललितपुर, काठमाडौं, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, ग्याग्दी, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, डोल्पा, जुम्ला, मुगु, कालिकोट, सुर्खेत, डोटी, अछाम, दार्चुला, डडेलधुरा, कञ्चनपुर र कैलालीका जिल्ला कार्यालयमा आगजनी भएको विश्वकर्माले बताए ।

त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवाको घरसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री उमाकान्त चौधरी, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, कोषाध्यक्ष उमेश श्रेष्ठको घर तथा डेरा जलेको विवरणमा उल्लेख छ । पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालाका घरमा समेत आगजनी भएको थियो ।

त्यस्तै, पूर्वसहमहामन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सञ्जय गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, शंकर भण्डारी, दीपक गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रामजनम चौधरी, डा. गोपाल दहित, मदनकृष्ण श्रेष्ठ, अर्जुनप्रसाद जोशी, आनन्द ढुंगाना, राजेन्द्र केसी, विनोद चौधरी, गेहेन्द्र गिरी, राजीव ढुंगाना र अनिल रुङगटाको घरसमेत जेनजी आन्दोलनले जलेको छ ।

यस्तै, बागमती प्रदेश सभापति तथा मुख्यमन्त्री इन्द्र बानिया र मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवको घर पनि आन्दोलनकारीले आगजनी गरेर ध्वस्त पारेका छन् । कांग्रेसले आन्दोलनबाट पार्टीको संरचना र नेतृत्व तहमा भएको क्षति अकल्पनीय रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.