प्रधानमन्त्री सुशीला कार्कीलाई ९ मन्त्रालयको जिम्मेवारी

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ६, सोमबार १६:५२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्र र रक्षासहित ९ वटा मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेकी छन् ।

उनले सोमबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै ४ जना नयाँ मन्त्री नियुक्त गरेकी छन् । कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी हुन् । यसअघि भदौ ३० गते पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी उनले सोमबार ४ जना मन्त्री थप गरेपछि मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।

कार्कीले भदौ ३० गते कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई मन्त्री बनाएकी थिइन् । यसअघि नियुक्त भएका मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती भएको छ ।

अर्थमन्त्री खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थपिएको छ । गृहमन्त्री अर्यालबाट कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ । अब अर्यालले गृह मन्त्रालयको मात्रै जिम्मेवारी सम्हाल्नेछन् ।

कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त भएका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दिइएको छ । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छिन् ।

परराष्ट्र र रक्षासहित कार्कीलाई खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी छ । कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक, पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी छ ।

सोमबार नियुक्त भएका अनिलकुमार सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला र उद्योग, वाणिज्य तथा आपूर्ति एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एवं जगदीश खरेलले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय र मदन परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.