
काठमाडौं । करिब २ वर्षअघि सर्वोच्च अदालतबाट अवकाश लिएका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा अब सरकारका शक्तिशाली ३ मन्त्रालयका मन्त्री बनेका छन् ।
कार्यपालिकाको नयाँ यात्रामा जोडिएका उनले शीतल निवासमा सोमबार शपथग्रहण गरेलगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर पदभार ग्रहण गरे । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कानुन, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी पनि पाएका छन् ।
६७ वर्षीय सिन्हाले न्यायाधीश जीवनमा कर्पोरेट र वाणिज्य कानुनसँगै संवैधानिक विवादमा समेत आफूलाई सक्षम सावित गरेका थिए । सर्वोच्चमा ७ बर्से कार्यकालमा उनले प्रतिनिधिसभा विघटनदेखि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यताको मुद्दामा निर्णायक भूमिका खेलेका थिए ।
उनी सर्वोच्चको सूचना प्रविधि समितिका संयोजक भएर अदालतलाई प्रविधिमैत्री बनाउन सक्रिय थिए । पूर्वप्रधानन्यायाधीश वा न्यायाधीश सरकारी पदमा नियुक्त हुन नपाउने स्पष्ट संवैधानिक व्यवस्था भए पनि जेनजी आन्दोलनपछिको असामान्य राजनीतिक परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा उनी मन्त्री बनेका हुन् ।
कानुन व्यवसायमै लामो समय बिताएका सिन्हा उद्योगी व्यवसायीमाझ कानुनी सल्लाहकारका रूपमा चिनिएका नाम हुन् । पदभार ग्रहण गर्ने क्रममा मन्त्री सिन्हाले आन्दोलनका सहिद परिवार र घाइतेलाई रोजगारी दिनेसम्बन्धी पहिलो निर्णय गरे । त्यस्तै, नेपालमै उत्पादन भएको काठबाट बनेका फर्निचरलाई प्राथमिकता दिने र सेवाहरूलाई अनलाइनमार्फत विस्तार गर्ने निर्णयमा पनि उनले हस्ताक्षर गरे ।
उद्योग मन्त्रालयमा पदभार ग्रहण गर्दा उनी निकै भावुक देखिए । उनले जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदको बलिदान व्यर्थ नजान दिने प्रतिज्ञा गरे । ‘देश र जनताको लागि गम्भीर भएर काम गर्नेछु,’ उनले स्पष्ट शब्दमा भने ।
सिन्हाले वैदेशिक रोजगारीमा गएकाहरूले बटुलेको सिपलाई स्वदेशमै प्रयोग गरी रोजगारी सिर्जना गर्ने कार्यलाई प्राथमिकतामा राख्ने बताए । मंगलबार उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन मन्त्रालय पुगेर पनि पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको विशेष आग्रहपछि मात्रै मन्त्री बन्न तयार भएका सिन्हाले अब कानुनमन्त्रीको भूमिकामा न्यायाधीश नियुक्ति, सरुवा–बढुवा र आगामी निर्वाचनसँग सम्बन्धित अध्यादेश तयारीसम्मका संवेदनशील जिम्मेवारी सम्हाल्नेछन् । अवकाशपछिका २ वर्ष अध्यापन र अनुसन्धानमा बिताएका सिन्हा अब राजनीतिक भूमिकामा कसरी प्रस्तुत हुन्छन् भन्ने चासो बढेको छ ।
न्यायपालिकाको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका उनले कार्यपालिकाको नयाँ यात्रा आरम्भ गरेकाले पनि धेरैको चासो रहेको हो । उनको कार्यपालिका यात्रा सफल भए वा नभएको यकिन आगामी दिनले गर्ने छन् ।
























