
विराटनगर । जेनजी आन्दोलनको आवरणमा कोशी प्रदेशको राजधानी विराटनगरमा आगजनी, तोडफोड एवं लुटपाट गरेर विध्वंस मच्चाउने समूहमाथि मोरङ प्रहरीले निगरानी बढाएको छ ।
सरकारी एवं निजी सम्पत्ति र व्यापारिक मलमा आगजनी गरेर आतंक मच्चाउनेहरु प्रहरीको उच्च निगरानीमा रहेका हुन् । विराटनगरसहित मोरङका विभिन्न स्थानमा विध्वंस मच्चाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने तयारी प्रहरीले गरिरहेको छ ।
मोरङ प्रहरी प्रमुखको कार्यभार सम्हालेका एसपी (प्रहरी उपरीक्षक) कवित कटवालले बुधबार बिहान पत्रकारसँगको परिचयात्मक कार्यक्रममा सरकारी र निजी सम्पत्तिमाथि आगजनी गर्नेहरुलाई उन्मुक्ति दिन नसकिने स्पष्ट पारेका छन् । प्रहरी प्रधान कार्यालयले गरेको सरुवाका आधारमा एसपी कटवाल सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएका हुन् ।
मोरङ हाजिर भएको तेस्रो दिनमै पत्रकारसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै उनले आगजनी एवं तोडफोडबाट क्षति पुगेका संरचनाको मुचुल्का उठाउने काम सम्पन्न भइसकेको जानकारी दिए । जेनजी आन्दोलनका नाममा अराजक समूहले गत भदौ २४ गते विराटनगरसहित मोरङका विभिन्न सरकारी कार्यालय तथा निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाएको थियो ।
प्रहरीले यसअघि नै घटनासँग सम्बन्धित फोटो, भिडियोलगायतका प्रमाणहरु उपलब्ध गराउन सार्वजनिक रूपमा आह्वान गरेको थियो । प्रमाण उपलब्ध गराउनेको पहिचान प्रहरीले गोप्य राख्ने छ । ‘प्रहरीले आग्रह गरिसकेपछि फोटो र भिडियोलगायतका धेरै प्रमाणहरु प्राप्त भइसकेका छन् । अझै पनि प्राप्त हुने क्रममा छन्,’ एसपी कटवालले भने, ‘प्राप्त प्रमाणको विश्लेषण गर्ने काम भइरहेको छ । ‘स्क्रिनिङ’ गरेर घटनामा संलग्नका बारेमा यकिन भइसकेपछि कारबाहीको दायरामा ल्याउँछौं ।’

उनका अनुसार घटनामा संलग्नलाई कारबाहीको माग राखेर प्रहरीमा केही उजुरी पनि परेका छन् । ‘अराजक घटनापछि प्रहरीको मनोबल खस्किएको छ । अहिले प्रहरीले ‘फिल्ड’मा राम्रोसँग काम गर्न सकिरहेको छैन । जेनजीको नाम लिएर अपराधिक कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गरेर प्रहरीको मनोबल उच्च बनाउनेतर्फ हामी केन्द्रित छौं,’ एसपी कटवाल भन्छन् ।
जेनजी आन्दोलनको आवरणमा आगजनी गरेर राज्य एवं व्यक्तिको सम्पत्ति स्वाह बनाउँदै आतंक मच्चाउने र यस्ता गैरकानुनी कार्य गर्न उक्साउनेमाथि कारबाही गर्ने प्रतिबद्धता प्रहरीको छ । ‘आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेका संरचनाको मुचुल्का उठाउने काम सम्पन्न भइसकेको छ । विभिन्न प्रमाण प्रहरीले हात पारिसकेको छ । उजुरीहरु पनि परेका छन् । ती सबै कुराको विश्लेषण भइरहेको छ । प्रहरीले अध्ययन गरिसकेपछि घटनामा संलग्न कारबाहीको दायरामा आउँछन्,’ उनले भने ।
अपराधिक गतिविधि गर्ने र अराजक भिडलाई त्यस्ता गतिविधि गर्न उक्साउनेहरु भाग्न नपाउन् भनेर प्रहरीले अहिले निगरानी बढाएको हो । ‘जसरी पनि कारबाही हुन्छ । त्यही भएर अहिले ‘स्क्रिनिङ’ गर्दै आगजनी र लुटपाटमा संलग्न रहेका व्यक्तिहरु यकिन गर्ने काम भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।
प्रहरीले अझै पनि कोही कसैसँग भएका आगजनी र लुटपाटसँग सम्बन्धित भिडियो र प्रमाणहरु उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ । अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनकै लागि प्रहरीले संवेदनशील भएर काम गरिरहेको जानकारी एसपी कटवालले दिए ।
बढाइयो चाडपर्व लक्षित सुरक्षा सतर्कता
मोरङमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा सतर्कता बढाएको छ । बडादसैँ सुरु भएसँगै प्रहरीले उच्च सुरक्षा सुरक्षा सतर्कता अपनाएको हो । ‘शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानजस्ता नियमित कामका साथै चाडपर्वलाई लक्षित गरेर विशेष हिसाबको सुरक्षा व्यवस्था मिलाइएको छ,’ एसपी कटवालले भने ।
प्रहरी नागरिकको सेवामा प्रतिबद्ध रहेको सन्देश दिन मोरङमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएको उनले बताए । ‘नागरिकको सेवामा प्रतिबद्ध छौं । सुरक्षित मोरङ बनाउन संवेदनशील छौं । जुनसुकै खालका अपराधलाई नियन्त्रणमा लिन र अपराधमा संलग्नलाई कारबाही गर्न निर्मम हिसाबले काम गर्छौं,’ उनी भन्छन् ।
चाडपर्वका बेला अपराधिक घटना धेरै हुन सक्नेतर्फ सचेत हुँदै प्रहरीले त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाएको जानकारी कटवालले दिए । ‘चाडपर्वमा अपराधिक घटना धेरै हुन सक्छन् । तर, सबैसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन निर्भीक हिसाबबाट प्रहरीले काम गर्छ,’ उनले भने ।
उनले नागरिकले अनुभूति गर्ने गरी सुरक्षा दिन प्रहरी तयार रहेको बताए । जेनजी आन्दोलनपछि सडकमा पर्याप्त मात्रामा प्रहरी दिन नसकिएको उल्लेख गर्दै कटवालले अब प्रहरी सक्रियता बढाइएको र प्रहरी नियमित कामकारबाहीमा फर्किसकेको बताए ।
चाडपर्वको सुरक्षाका लागि मोरङमा रहेकासँगै थप सुरक्षाकर्मीसमेत मगाएर परिचालन गरिने उनको भनाइ छ । कुनै ठाउँमा अपराधिक घटना हुन लागेमा वा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गरिदिन एसपी कटवालले सबैमा आग्रह गरेका छन् ।
त्यस्तै, मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले कुनै पनि घटनालाई अतिरञ्जित बनाउने गरी गलत सूचना प्रवाह नगरिदिन पत्रकारहरुलाई आग्रह गरेकी छन् । ‘पत्रकारले दिएको सूचनाले आमनागरिकले आफ्नो धारणा बनाउँछन् । त्यही भएर गलत सूचना दिएर घटनालाई तोडमोड एवं अतिरञ्जित बनाउने काम गर्न हुँदैन । सम्बन्धित अधिकारीबाट प्रमाणित गराएर मात्रै प्रवाह गराउँदा समाजले पनि सही सूचना प्राप्त गर्छ,’ उनी भन्छिन् ।
प्रहरी प्रवक्ताको जिम्मेवारीमा भएको हिसाबले आफू पत्रकारलाई समयमै सत्य सूचना दिन तयार रहेको डीएसपी चुँडालको भनाइ छ । ‘कुनै पनि सूचना प्रवाह गर्नुअघि ‘भेरिफाइ’ गरिदिनु होला । त्यसमा सहजीकरण गर्न हामी तयार छौं,’ पत्रकारलाई आग्रह गर्दै उनले भनिन् ।


















