
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक उद्घाटनलगत्तै हंगामा भएको छ । सुरुवातमै नेताहरूबीच तीव्र असहमति र होहल्ला भएपछि पत्रकारलाई बैठक हलबाट बाहिर निकालिएको हो ।
बैठकको सुरुवातमै सुदन किराँती, रञ्जित तामाङसहितका नेताहरूले प्रत्येक केन्द्रीय सदस्यलाई आफ्ना विचार राख्ने अवसर दिनुपर्ने माग अघि सारे । तर, नेतृत्वले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरी टोली नेतामार्फत धारणा राख्ने तयारी गरेको थियो ।
यस प्रावधानको विरोध गर्दै सदस्यहरूले बोल्न पाउनुपर्ने आग्रह गरेपछि बैठक हलमा विवाद र होहल्ला भएको हो । त्यसपछि महासचिव देव गुरुङले पत्रकारलाई रिपोर्टिङ रोक्न र हल बाहिर जान आग्रह गरेका थिए ।
महासचिव गुरुङले बैठकका एजेन्डा पनि प्रस्तुत गरेका छन् । विशेष महाधिवेशन, आसन्न आमनिर्वाचन र पार्टी एकताजस्ता विषय यसपटकको बैठकका प्रमुख एजेन्डा रहेका छन् ।
माओवादी केन्द्रको आन्तरिक मतभिन्नता खुलेर सतहमा आएको यस घटनाले बैठकलाई सुरुवातमै तनावपूर्ण बनाएको छ ।
























