माधव नेपालसँगको पार्टी एकता चर्चाबारे सुदन किरातीको आपत्ति

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ९, बिहीबार १९:३२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले भ्रष्टाचार मुद्दामा फसिरहेका माधवकुमार नेपालसँग पार्टी एकता गर्ने चर्चा चलेको विषयलाई लिएर आपत्ति जनाएका छन् ।

उनले नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्नु माओवादीका लागि हानिकारक हुने बताए । प्रज्ञा भवनमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा उनले एकीकृत समाजवादीसँग सम्भावित एकताको विषयलाई उठाउँदै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

किरातीले माओवादीले सुशासनलाई मुख्य एजेन्डा बनाएर अघि बढिरहेको अवस्थामा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाललाई नेता मान्न गाह्रो पर्ने तर्क प्रस्तुत गरे । उनले भने, ‘एकताको नाममा उहाँलाई ल्याइयो भने हामी मानिरहे पनि जनताले मान्दैनन् । त्यसकारण यो कदम पार्टीका लागि विनाशकारी बन्न सक्छ ।’

बैठकमा उनले माओवादी अहिलेको यथास्थितिबाट अघि बढ्न नसक्ने निष्कर्ष निकालेका छन् । त्यसका लागि पार्टी पुनर्गठनको आवश्यकता औंल्याउँदै उनले विभिन्न विकल्पसहितको प्रस्ताव पेस गरे ।

किरातीको पहिलो प्रस्तावअनुसार सबै पदाधिकारीले राजीनामा दिएर स्थायी समितिका वरिष्ठ नेताको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्नुपर्नेछ । दोस्रो विकल्पमा उनले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउनुपर्ने धारणा राखे ।

तेस्रो विकल्पमा भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं संयोजक भएर महाधिवेशन गर्न सक्ने, तर यसै बैठकबाट प्रचण्डले महाधिवेशनमा नेतृत्व त्याग गर्ने स्पष्ट ग्यारेन्टी दिनुपर्ने सर्त जोडिएको छ । किरातीले पार्टी कमजोर हुनुको कारण नेताहरू पद, पैसा र परिवारको पछाडि लाग्नु भएको बताए ।

उनले भने, ‘जतिखेर नेताहरूले मृत्युको प्रवाह गर्थेनन्, त्यतिखेर पार्टी शक्तिशाली थियो । तर, जब जीवन, पद, पैसा र परिवारको मोह बढ्यो, पार्टी पनि कमजोर बन्यो । नेताहरू पनि कमजोर बने ।’ उनले पार्टीको गल्ती नसच्चिए माओवादीले खराब इतिहास निर्माण गर्ने खतरा बढ्ने चेतावनी पनि दिए ।

किरातीको भनाइमा, ‘इतिहासमा नेताहरू रामजस्तै देखिन्थे । तर, अब रावणजस्तो बन्ने खतराबाट जोगिनै पर्छ ।’ किरातीको अभिव्यक्तिले माओवादी केन्द्रभित्र नेतृत्व परिवर्तन र भविष्यको बाटोबारे गम्भीर बहसको संकेत गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.