
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालको विपद् अवस्थालाई गम्भीर रूपमा लिन आग्रह गर्दै उद्धार तथा राहत कार्यमा सक्रिय रहन पार्टी कार्यकर्तालाई आह्वान गरेका छन्।
शनिबार जारी वक्तव्यमार्फत महामन्त्री थापाले भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा देखिएको बाढी पहिरो र विपद् स्थितिप्रति चिन्ता व्यक्त गर्दै जिम्मेवारीपूर्वक खटिन सबैलाई अनुरोध गरेका हुन्।
“भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आम नेपाली नागरिक, कांग्रेसका साथीहरू, स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिहरूलाई सरकारले जारी गरेका सूचनाहरू व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत तथा सेवामा जुट्न आग्रह गर्दछु,” थापाले भनेका छन्।
उनले सबै तहका कांग्रेस कार्यकर्तालाई पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात् गर्दै आफ्नो क्षेत्रमा सक्रिय रहन समेत निर्देशन दिएका छन्।
संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य भएको बताउँदै थापाले साझा जिम्मेवारीका साथ सबै निकाय र जनशक्तिलाई अग्रपङ्क्तिमा खटिनु आजको आवश्यकता भएको बताएका छन्।
























