राजनीतिक दलसँग असोज ३० गते छलफल गर्ने आयोगको तयारी

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २१, मंगलबार १५:२०

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको विषयलाई लिएर निर्वाचन आयोगले राजनीतिक दलसँग व्यापक छलफल गर्न लागेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यही असोज ३० गते दलहरूलाई छलफलका लागि आयोगमा बोलाउने तयारी भइरहेको छ । ‘असोज ३० गते राजनीतिक दलहरूसँग परामर्श गर्छौं । त्यसका लागि पत्र काट्ने तयारीमा छौं,’ भण्डारीले भने । उनका अनुसार छलफलमा निर्वाचन कार्यतालिकादेखि लिएर व्यवस्थापकीय तयारी, उम्मेदवारी दर्ता, आचारसंहिता र सुरक्षासम्बन्धी विषयसम्मको समग्र एजेन्डा प्रस्तुत गरिनेछ ।

आयोगले राजनीतिक दलले तोकेका सम्पर्क व्यक्तिहरूसँग सल्लाह गरी बैठक बोलाउने तयारी गरेको छ । ‘दलका तर्फबाट सम्पर्क व्यक्तिहरूको नाम आयोगमा दर्ता छ । ती व्यक्तिहरूसँग सल्लाह गरेर बैठक बोलाउने तयारीमा छौं,’ भण्डारीले स्पष्ट पारे । बैठक बिहान ११ः३० बजे सुरु हुने तय गरिएको छ ।

आयोगमा दर्ता भएका सबै दललाई भने नबोलाइने जनाइएको छ । तर, प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको वा कम्तीमा एउटा वडाको वडा सदस्य जितेका दलहरूलाई पनि छलफलमा सामेल गराइने भण्डारीले बताए । ‘साना दललाई पनि सहभागी गराएर समावेशी छलफलको वातावरण बनाउने हाम्रो उद्देश्य हो,’ उनले भने ।

आयोगले यसअघि नै प्रतिनिधिसभा निर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, कार्यतालिका सार्वजनिक हुनुअघि परामर्श नगरिएको भन्दै केही दलका नेताले असन्तुष्टि जनाएका थिए ।

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग नियमित संवादलाई निरन्तरता दिने बताएको छ । भण्डारीले भने, ‘हप्ताको एकपटक वा महिनाको दुईपटक निर्वाचन तयारीबारे दलहरूसँग छलफल गर्ने हाम्रो योजना छ ।’

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले पनि निर्वाचनका विषयमा मंगलबार सुरक्षा निकायका प्रमुखहरू र आयोगका पदाधिकारीसँग संयुक्त बैठक गरिरहेकी छन् । सो बैठकमा निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था र संवेदनशील क्षेत्रमा समन्वयबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.