संसद पुनस्थापनाको पक्षमा ओली, जिल्ला अध्यक्षले मागे महाधिवेशन

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २२, बुधबार १९:४९

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संसद पुनस्थापनाकाे पक्षमा उभिएका छन् । कोशी प्रदेशका जिल्ला अध्यक्षहरूसँगकाे छलफलमा उनी पुनस्थापनाकाे पक्षमा उभिएका हुन् । जिल्ला अध्यक्षहरूले तत्काल पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् ।

अध्यक्ष ओलीसँग भएको भर्चुअल संवादमा जिल्ला अध्यक्षहरूले पार्टीलाई पुनर्गठन गरी अघि बढाउन महाधिवेशन अपरिहार्य रहेको बताएका हुन् ।

मोरङ, भोजपुर, उदयपुर र धनकुटाका एमाले जिल्ला अध्यक्षहरूले मंसिरमा नै महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन् । मोरङ अध्यक्ष अजम्बर राईले ‘पार्टी सम्हालिएर जानुपर्छ, पुनर्गठन गरेर जानुपर्छ’ भन्ने पक्षबाट कुरा राखेकाे बताए । अध्यक्ष ओलीले भने महाधिवेशनबारे आगामी केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने जानकारी दिएका थिए ।

संवादका क्रममा अध्यक्ष ओलीले देशमा तत्काल निर्वाचन गराउने वातावरण नभएको भन्दै संसद पुनस्थापनाकाे पक्षमा पार्टी उभिनुपर्ने  बताएका थिए । यद्यपि, बैठकमा उपस्थित केही नेताहरूले भने निर्वाचनमा जानुपर्ने राय राखेका थिए ।

कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पनि सम्बोधनका क्रममा अध्यक्ष ओलीले संसद पुनस्थापनाकाे पक्षमा जानुपर्ने बताएको जानकारी दिए । यस विषयमा केन्द्रीय कमिटीले थप निर्णय गर्ने उनले बताए ।

जेनजी आन्दोलनपछिको परिस्थितिमा पार्टी कसरी अघि बढ्ने भन्नेमा पार्टी भित्र अन्योल रहेको देखिन्छ । मोरङ अध्यक्ष राईले ‘संसद पुनस्थापनाकाे पक्षमा जाने कि निर्वाचनमा जाने ? भन्ने पार्टीकाे धारणा आइसकेको बताए ।

भोजपुर अध्यक्ष मक्कर खड्काले महाधिवेशनको माग उठे पनि तत्काल नेतृत्वको विषयमा छलफल नभएको बताए । समग्रमा, एमालेभित्र आगामी रणनीति र पार्टीको भविष्यबारे फरक-फरक मत देखा परेकाे थियाे, जसको टुंगो केन्द्रीय कमिटीकाे बैठकले लगाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.