
काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले अहिलेको अवस्थामा उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर विधिको शासन र लोकतान्त्रिक मूल्यका आधारमा अघि बढ्नुपर्ने बताएका छन् ।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले मुलुक संवेदनशील अवस्थामा रहेको बताउँदै सबै राजनीतिक दल, सरकार र सरोकारवालाहरूले संयमका साथ जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको घटनापछि गृहमन्त्री पदबाट राजीनामा दिएका लेखक लामो समयपछि पहिलोपटक सार्वजनिक भएका हुन् ।
उनले जेनजी पुस्ताले उठाएका मुद्दा र असन्तोषहरूलाई बेवास्ता नगरी बुझ्ने र समाधानमुखी संवादका माध्यमबाट अघि बढ्नुपर्ने आवश्यकता दोहोर्याए । ‘जेनजी पुस्ताले जे माग उठाउनुभएको छ, ती मागहरूलाई बुझ्दै लोकतन्त्रका मूल्य र मान्यताभित्र रहेर सम्बोधन गर्न जरुरी छ,’ उनले भने, ‘अहिलेको समय उत्तेजित हुने वा प्रतिशोधको भावना बोकेर अघि बढ्ने होइन, विधिको शासन स्थापना गर्ने र जिम्मेवार राजनीति गर्ने समय हो ।’
लेखकले जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउने आदेश नदिएको स्पष्ट पारे । ‘प्रधानमन्त्री वा गृहमन्त्रीले गोली चलाउने आदेश दिएको भन्ने चर्चाहरू पूर्णतः असत्य छन्,’ उनले भने, ‘त्यस्ता आदेश कुनै पनि तहबाट गरिएको थिएन ।’ उनका अनुसार आन्दोलनका क्रममा केही घुसपैठ हुने कुरा त्यसबेला नै आयोजकहरूबाट आएको थियो र पछि त्यसको प्रमाण समेत देखिएको छ ।
‘घुसपैठ भएको विषय मैले बनाएको होइन, प्रदर्शनका आयोजकहरूले नै त्यसबेला भनेका थिए, र पछि त्यो सत्य पनि सावित भयो,’ उनले स्पष्ट पारे, ‘त्यो कारणले नै घटनाले दुःखद रूप लियो ।’ लेखकले जेनजी आन्दोलनको घटनाबारे सरकारले गठन गरेको छानबिन आयोग र सम्बन्धित निकायहरूलाई कानुनी प्रक्रियाभित्र रहेर निष्पक्ष रूपमा काम गर्न आग्रह गरे ।
‘२३ र २४ गतेका घटनाको छानबिनका लागि आयोग बनेको छ । अब सरकार, आयोग र राजनीतिक दलहरू सबैले लोकतान्त्रिक मूल्य र संविधानअनुसारका सीमाभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने । उनले कानुनको शासनमा आधारित प्रणालीमै मुलुकको समस्या समाधान हुने विश्वास पनि व्यक्त गरे ।
‘हामी कानुनी शासनको मान्यताभित्र रहेर अघि बढ्यौं भने सत्य र न्याय दुवै ठाउँमा पुग्छौं,’ लेखकले भने, ‘अहिलेको आवश्यकता भनेको आरोप–प्रत्यारोप होइन, सहमति र संयम हो ।’ जेनजी आन्दोलनपछि जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिएका लेखकले आन्दोलनका पीडित र उनका परिवारप्रति सहानुभूति व्यक्त गरे र न्यायिक प्रक्रिया निष्पक्ष हुनुपर्नेमा जोड दिए ।
लोकतन्त्र र कानुनी शासनको रक्षा नै वर्तमान राजनीतिको प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ । लेखकले भने, ‘देशलाई विभाजित होइन, एकतामा ल्याउने सोच आवश्यक छ । भावनाभन्दा माथि उठेर कानुन र विधिको बाटोबाट मात्र मुलुक अघि बढ्न सक्छ ।’
























