
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि नेकपा (एमाले)को शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको छ । बैठक बिहान बस्ने भनिएको थियो ।
ओलीलाई रुघाखोकीले सताएको भन्दै आइतबार बिहान ११ बजेका लागि बैठक सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार अस्वस्थ रहेका ओलीले चिकित्सकको सल्लाहअनुसार विश्राम गरिरहेका छन् ।
पार्टीका अन्य शीर्ष नेताले बैठक स्थगनको निर्णय ओलीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर गरिएको स्पष्ट पारेका छन् । आइतबारको बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी, संगठनात्मक पुनर्संरचना र भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका समीक्षा हुने बताइएको छ ।
पार्टीको महाधिवेशन नजिकिँदै जाँदा देखिएका विचार, समूहगत असन्तुष्टि र भावी नेतृत्वको स्वरूपबारे आन्तरिक छलफल तीव्र बनेको छ । शुक्रबार बसेको अघिल्लो सचिवालय बैठकमा एमालेले छिट्टै महाधिवेशनको मिति तय गर्ने र त्यसको तयारीलाई औपचारिक ढंगले अघि बढाउने विषयमा व्यापक छलफल गरेको थियो ।
सो बैठकमा अधिकांश सदस्यले पार्टीमा उत्पन्न प्रश्नहरूको जवाफ महाधिवेशनबाटै दिनु उचित हुने धारणा राखेका थिए । बैठकले ‘पार्टीको दिशाबारे उठेका सबै जिज्ञासा, आलोचना र विचार–असहमतिको अन्तिम जवाफ महाधिवेशनको माध्यमबाट दिने’ निष्कर्ष निकालेको थियो ।
यसै क्रममा केन्द्रीय नेताहरूबीच प्रदेश र जिल्लास्तरमा संगठन विस्तार र कार्यकर्ता परिचालनका लागि कार्ययोजना बनाउने सहमति पनि भएको थियो । बैठकले भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनको सविस्तार समीक्षा पनि गरेको थियो । उक्त आन्दोलनलाई पार्टीले ‘देशभित्रको राजनीतिक अस्थिरता र युवावर्गको असन्तुष्टिको संकेत’का रूपमा मूल्यांकन गरेको छ ।
नेताहरूका अनुसार बैठकमा आन्दोलनका कारण उत्पन्न राजनीतिक सन्देश, त्यसले सरकार र प्रमुख दलहरूमा पारेको प्रभाव र त्यसबाट एमालेले लिनुपर्ने पाठबारे खुलेर छलफल गरिएको थियो । सचिवालय सदस्यहरूले जेनजी आन्दोलनपछि देशमा देखिएको राजनीतिक अविश्वास, दलप्रतिको असन्तुष्टि र राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै दलहरूले जनभावनालाई बुझ्नुपर्ने निष्कर्ष निकालेका थिए ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले सरकार र दलहरूबीच एकता र सहकार्यको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । सचिवालय बैठकको निष्कर्षअनुसार एमालेले आगामी दिनमा ‘राष्ट्रिय एकताको नयाँ मोडेल’ प्रस्तुत गर्ने र सबै दलहरूलाई संवादको माध्यमबाट एक ठाउँमा ल्याउने प्रयास गर्नेछ ।
एमालेभित्र हाल नेतृत्वको उत्तराधिकार, संगठनात्मक पुनर्संरचना, प्रदेश कमिटीहरूमा असन्तुलन र पार्टीभित्रको कार्यशैलीबारे विविध मत उठिरहेका छन् । अध्यक्ष ओलीले अघिल्लो बैठकमा महाधिवेशनलाई पार्टी पुनर्जागरणको अवसरका रूपमा लिनुपर्ने बताएका थिए । उनले पार्टीको सबै तहमा अनुशासन, जवाफदेहिता र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।
ओलीले ‘पार्टीका नेता–कार्यकर्ता बीच विश्वासको वातावरण पुनःस्थापना गरी जनतामाझ नयाँ ऊर्जा लिएर जाने’ लक्ष्य राख्नुपर्ने बताएका थिए । एमाले अहिले संगठनात्मक दृष्टिले महत्वपूर्ण मोडमा छ । प्रदेश र स्थानीय तहका अधिकांश समितिहरूको कार्यकाल सकिन लागेको छ ।
आगामी महाधिवेशनसँगै पार्टीका संरचनाहरू पुनर्गठन गर्ने तयारी एमालेले गर्दै आएको छ । आइतबारको बैठकले महाधिवेशनको प्रारम्भिक मिति, प्रस्ताव समिति गठन, कार्यसूची निर्धारण र केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँटबारे समेत छलफल गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।
























