
जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिनुअघि नै प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन्। उनले मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै आफ्नै पार्टी जनमतले ‘प्रपञ्च रचेको’ र सरकारमा सहभागी दलहरूले ‘बचन फेरेको’ आरोप लगाउँदै राजीनामा दिएका हुन्।
‘म सत्ता र पदका लागि होइन, जनताका लागि काम गर्न चाहन्छु,’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘जनताको हित र संविधानको रक्षाका लागि यहाँ उभिएको छु। वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै म मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु।’
प्रदेशसभामा अल्पमतमा परेपछि मुख्यमन्त्री सिंहले विश्वासको मत नलिँदै राजीनामा दिएका हुन्। उनले राजीनामा घोषणा गरेपछि सभामुख रामचन्द्र मण्डलले उनलाई विश्वासको मतको प्रक्रियामा जानु नपर्ने भन्दै प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा पेस गर्न निर्देशन दिएका छन्।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले राजीनामाको घोषणा गरेपछि विश्वासको मतको प्रक्रिया स्थगित भएको सभामुखले बताए।
सिंहले पदबाट राजीनामा दिन तयार भए पनि आफ्नै पार्टी जनमतले आफूलाई बदनाम गराउन ‘प्रपञ्चमाथि प्रपञ्च रचेको’ गम्भीर आरोप लगाएका छन्।
























