संसद् विघटनः सर्वदलीय छलफलमा सभामुख

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १०:३५

काठमाडौं। सभामुख देवराज घिमिरेको आह्वानमा संसद् विघटनसम्बन्धी महत्त्वपूर्ण विषयमा दलहरूको धारणा बुझ्न सर्वदलीय बैठक सुरु भएको छ। बैठक हाल सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छ।

सभामुख घिमिरेले प्रतिनिधि सभा विघटनबारे दलहरूको आधिकारिक राय माग्न यो बैठक आयोजना गरेका छन्। विघटनको विरोधमा सभामुख स्वयं अदालत जानुपर्छ कि पर्दैन भन्ने विषयमा प्रमुख दलहरूको धारणा लिन लागेका छन्।

विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी ९जसपा० नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका प्रतिनिधिहरू बैठकमा सहभागी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सभामुखसँगको यस छलफलमा अनुपस्थित भएको छ।

दलहरूको धारणा लिएपछि सभामुख घिमिरेले यस विषयमा थप कानुनी परामर्श लिने तयारी गरेका छन्। उनले पूर्वमहान्यायाधिवक्ताहरू, नेपाल बार एसोसिएसनका पदाधिकारीहरू र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरू सँग छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने सम्बन्धमा सभामुखलाई यसअघि नै सरोकारवालाबाट दुवै खालका सुझाव प्राप्त भइसकेका छन्। अब दलहरू, पूर्वमहान्यायाधिवक्ताहरू र बारका पदाधिकारीहरूको धारणा लिइसकेपछि सभामुख घिमिरेले आफ्नो अन्तिम निर्णय लिने तयारीमा रहेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.