प्रतिनिधिसभा पुनर्स्थापनामा एमालेको जोड, कांग्रेस निर्वाचनको तयारीमा

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १४:४०

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विषयमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले फरक–फरक धारणा सार्वजनिक गरेका छन् । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग बुधबार गरेको छलफलमा यस्तो विरोधाभास देखिएको हो ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको छलफलमा दलका प्रमुख सचेतक तथा नेताहरूले आ-आफ्नो धारणा राखेका थिए ।

छलफलमा सहभागी विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीले विघटनलाई असंवैधानिक माने पनि लोकतान्त्रिक दल भएकाले निर्वाचनबाट नभाग्ने बताए ।

सर्वोच्च अदालतमा रिट पुगिसकेको जानकारी आएको बताउँदै घिमिरेले सर्वोच्चको व्याख्या र आदेशलाई सम्मान गर्दै सरकारले घोषणा गरेको निर्वाचनको तयारी पनि थाल्ने बताए । सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने निर्णय गरे पनि सम्मान गर्ने उनको भनाइ थियो ।

नेकपा (एमाले) का विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक महेश बर्तौलाले भने देशलाई संवैधानिक मार्गमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेकोमा जोड दिए ।

बर्तौलाले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार निर्वाचन गराउने बाटोमा नरहेको र गृह प्रशासन नै राजनीतिक दलका नेतालाई गिज्याउँदै हिँड्न थालेको आरोप लगाए । उनले लुटेका हतियार ल्याउन सरकारलाई चासो नभएको भन्दै निर्वाचन गराउने अवस्था नभएकाले पुनर्स्थापना जरुरी रहेको बताए ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले भने पार्टीले निर्वाचनमा जाने निर्णय गरिसकेको र आफूहरू सोही तयारीमा रहेको जानकारी गराए । सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाको विषयमा राजनीतिक दलका नेताहरूसँग राय माग्न यो बैठक बोलाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.