एमालेको केन्द्रीय कमिटी बैठक : जेनजीसँग संवादको संकेत

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १८:५४

काठमाडौं । नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक बुधबारदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको छ । पार्टीको मूल नेतृत्व र केन्द्रीय तहका पदाधिकारीहरू सहभागी उक्त बैठकमा करिब ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हालै देशमा देखिएका राजनीतिक घटनाक्रमबारे विस्तृत समीक्षा गर्दै गत भदौ २३ र २४ गतेका घटनालाई नेपालको लोकतान्त्रिक प्रणाली एवं संविधानमाथि गरिएको आन्तरिक र बाह्य षड्यन्त्रको ‘भयानक र त्रासदीपूर्ण आक्रमण’ भएको बताए । ओलीले नेपालको लोकतान्त्रिक उपलब्धिलाई कमजोर पार्ने प्रयासहरू विभिन्न स्वरूपमा भइरहेको भन्दै त्यसविरुद्ध पार्टी दृढतापूर्वक उभिने उल्लेख गरे ।

उनका अनुसार एमाले अब ‘सिद्धान्त र मूल्यमा स्पष्ट’ हुँदै ‘नयाँ पुस्तासँग संवाद गर्न तयार’ भएर अघि बढ्नेछ । बैठकमा सहभागी नेताहरूका अनुसार बुधबारको छलफलले जेनजी पुस्तासँग संवादका लागि पार्टीले औपचारिक ढोका खोलेको संकेत दिएको छ ।

युवा पुस्तालाई राजनीति र नीति निर्माणमा सक्रिय सहभागी गराउन एमाले नेतृत्वले आगामी महाधिवेशनसम्म विभिन्न कार्यक्रम र प्रशिक्षणमार्फत आकर्षण गर्ने तयारी गरेको बताइएको छ । बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले हालको राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आ–आफ्ना विचार राख्दै पार्टीलाई ‘समयअनुसारको संगठनात्मक रूपान्तरण’ आवश्यक रहेको सुझाव दिएका छन् ।

पार्टी स्रोतका अनुसार बैठकले आगामी दिनमा संगठन सुदृढीकरण, नीति अद्यावधिक र युवा–मैत्री अभियानका विषयमा ठोस कार्ययोजना बनाउने छ । बैठकको अन्तिममा अध्यक्ष ओलीले आगामी संगठनात्मक दिशानिर्देश र राष्ट्रिय राजनीतिक मूल्यांकनसहितको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको एमाले स्रोतले जनायो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.