
काठमाडौं । नेकपा एमालेको ललितपुरमा जारी दशौँ केन्द्रीय समिति बैठकमा वैदेशिक हस्तक्षेप कसको हो भनेर किटान गर्नुपर्ने माग उठेको छ। आज (बिहीबार) दोस्रो दिनको बैठकमा नेपालमा हस्तक्षेप गर्ने विदेशी शक्ति किटान गर्नुपर्ने भन्दै केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।
मोरङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रामलाल साहले बैठकमा भने, ‘वैदेशिक हस्तक्षेप हो भने क–कसको हो किटान गरौँ र सोधौँ। होइन भने समस्याको समाधान बाहिर नखोजौँ।’ उनले पार्टीभित्रको खास समस्या नेता र नेतृत्वमा रहेको भए पनि अमूक ‘विदेशी शक्ति’लाई मात्र दोष देखाउनु गलत हुने टिप्पणी गरे।
त्यसैगरी, अर्का केन्द्रीय सदस्य रबिन कोइरालाले पनि समाजका तमाम असफलताहरू अरूले गरेको भनेर आज पत्याउने परिस्थिति नभएको बताए। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट बिदा लिन सुझाव समेत दिएका छन्।
























