
विराटनगर । विराटनगरमा सोमबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीका अवसरमा शोभायात्रा निकालिएको छ ।

महाकवि देवकोटाको जन्मजयन्ती र देवकोटा पुस्तकालयको ६७ औँ वार्षिकोत्सवका अवसरमा शोभायात्रा निकालिएको हो ।
बाजागाजासहित रहेको शोभायात्राले नगरको विभिन्न स्थानको परिक्रम गरेपछि पुनः देवकोटा चोकमा पुगेर विभिन्न कार्यक्रम गर्दै समापन भएको थियो ।

शोभायात्रापछि देवकोटा चोकमा रहेको देवकोटाको सालिकमा साहित्यकार, राजनैतिक दलका नेता, पुस्तकालयका पदाधिकारी र स्थानीयहरूले माल्यार्पण गर्दै उनलाई सम्झे ।
पुस्तकालका उपसभापति युवराज क्षेत्रीको सभापतित्व भएको कार्यक्रमका प्रमुख अतिथि पुस्तकालयका पूर्वसभापति खगेन्द्रसिंह घिमिरे, डा. मेदिनीप्रसाद शर्मा, विश्वनाथ रिजाल, सुबोध निरौलालगायत साहित्यिक अनुरागीहरूले देवकोटाका बारेमा चर्चा गरे ।

उनीहरूले अहिले पनि देवकोटाका कृतिहरू उत्तिकै समय सान्दर्भिक रहेको बताए । देवकोटाले लेखेको धेरै कृतिहरू छापिन बाँकी रहेको र उनका करिब ६० प्रतिशत मात्रै कृति छापिएको बताए ।
उनीहरूले बहुमुखी प्रतिभकाधनी एवम् असाधारण लेखक देवकोटाका छापिन बाँकी रहेका कृतिहरू छाप्नका लागि सबै जनाले पहल गर्नुपर्नेमा जोड दिए ।

१० वर्षको उमेरदेखि कविता लेखन सुरुवातै गरेका महाकवि देवकोटाले नछोएको साहित्यका कुनै विधा छैनन् ।
उनले महाकाव्य, खण्डकाव्य, लामा वर्णनात्मक कविताहरू, निबन्ध, कथा, नाटक, गीत र समालोचनाहरू जस्तो धेरै लेखेका छन् । देवकोटाद्वारा लिखित वियोगान्त नाटक मुनामदन अत्यधिक बिक्री हुने कृतिमा पर्दछ ।



















