तिहार बिदा : सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ जारी रहने

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ३, सोमबार १३:५६

काठमाडौं । तिहार पर्वका क्रममा देशभरका सरकारी कार्यालयहरू बन्द हुने भए पनि सर्वोच्च अदालतले भने आफ्नो महत्वपूर्ण संवैधानिक जिम्मेवारी जारी राख्ने निर्णय गरेको छ ।

तिहार बिदाका अधिकांश दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन दर्ता र सुनुवाइका लागि सर्वोच्च अदालत खुला रहनेछ । सर्वोच्च अदालत प्रशासनले सोमबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘दीपावलीको मुख्य दिन कात्तिक ७ गते भाइटीका र त्यसपछिको शनिबार बाहेकका दिनमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता र सुनुवाइ दुवै गरिनेछ ।’

सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहनेछ ।’ यस निर्णयले तिहारको समयमा पनि नागरिकका मौलिक हक र स्वतन्त्रताको रक्षा निरन्तर हुने सर्वोच्च अदालतको प्रतिबद्धतालाई प्रष्ट पार्दछ ।

बन्दी प्रत्यक्षीकरण रिट संविधानको धारा ४८ र मुलुकको कानुनी संरचनामा सर्वाधिक संवेदनशील विषयमध्ये एक हो । जसअन्तर्गत व्यक्तिलाई अवैध रूपमा हिरासत वा बन्दी बनाइएको अवस्थामा तत्काल राहतको माग गर्न सकिन्छ ।

अदालतका अनुसार यस्ता रिटहरूमा ढिलाइ हुँदा कुनै व्यक्तिको व्यक्तिगत स्वतन्त्रता गम्भीर रूपमा प्रभावित हुन सक्ने भएकाले लामो बिदाको अवधिमा पनि अदालतले सेवा दिने भएको हो । न्यायाधीशहरू पालो प्रणालीमा रहने र त्यस्ता रिटमा तत्कालीन रूपमा सुनुवाइका लागि बेञ्च गठन गरिने सर्वोच्च स्रोतले बताएको छ ।

यस वर्षको तिहार बिदा कात्तिक ९ गतेसम्म परेकाले सो अवधिमा अदालतमा अन्य प्रकारका मुद्दाहरूमा भने सुनुवाइ हुने छैन । तर, बन्दी प्रत्यक्षीकरणका मामिलामा भने सर्वोच्च अदालतले आफ्नो ढोका खुला राख्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.