
काठमाडौं । लामो समयदेखि कम्युनिस्ट एकताको प्रयास भइरहेका बेला नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरण हुने पक्का भएको छ ।
दुवै पार्टीबीच नीति, सिद्धान्त र कार्यक्रममा सहमति भइसकेकाले नेतृत्व टुंग्याउने जिम्मा माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एस अध्यक्ष माधवकुमार नेपाललाई दिइएको नेताहरुले बताए । स्रोतका अनुसार निर्वाचन आयोगले दिएको दल दर्ताको समय सकिनुअघि नै दुवै पार्टीबीच औपचारिक एकीकरण घोषणा गर्ने तयारी छ ।
नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने कार्यनीति नेपाली विशेषतासहितको समाजवादमा आधारित हुनेछ । यसअन्तर्गत माओवादी केन्द्रले माओवादलाई छोड्नेछ भने नेकपा एसले जनताको बहुदलीय जनवाद (जबज)लाई पूर्णतः परित्याग गर्ने बताइएको छ ।
नयाँ पार्टीको नामबारे भने अन्तिम टुंगो बाँकी छ । ‘नेपाल कम्युनिस्ट पार्टी समाजवादी’ वा ‘नेपाली कम्युनिस्ट पार्टी समाजवादी’ नाममा छलफल भइरहेको छ । निर्वाचन आयोगमा दर्ता सम्बन्धी प्राविधिक विषय मिलाएर अन्तिम निर्णय हुने बताइन्छ ।
नेतृत्व मोडालिटीका विषयमा प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक बन्ने प्रस्ताव अघि सारिएको छ । २ अध्यक्षको पुरानो ढाँचा असफल ठहरिएकाले त्यसतर्फ नजाने सहमति भएको छ ।
वार्ता टोलीका एक सदस्यका अनुसार झलनाथ खनाल र घनश्याम भुसालको भूमिकाबारे पनि सहमति भइसकेकाले अब एकतामा कुनै अवरोध छैन । प्रचण्ड–माधवबीच अन्तिम सहमति जुटेपछि नयाँ सचिवालय गठन गरी पार्टीको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ ।
























