
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् ।
बुधवारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्नेमा जोड दिएका हुन्। उनले ‘समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्ने’ र त्यो शक्ति ‘क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबाट नै हुनसक्ने’ विचार व्यक्त गरे।
अध्यक्ष नेपालले स्पष्ट आधार निर्माण नभई पार्टी एकता हुन नसक्ने अडान राखेका छन् । उनले पार्टी एकताका लागि मुलभूत विषयमा एकरुपता हुनुपर्ने बताएका छन्- पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिकारी कार्यक्रम, कार्यदिशा र कार्यनीति ।
नेपालले ‘यी सबै महत्त्वपूर्ण सवालमा समानता नभई कसैसँग पनि पार्टी एकता हुन नसक्ने’ बताए । साथै, उनले यी विषयमा समानता भएमा एकता गर्न ढिला गर्न नहुने धारणा व्यक्त गरेका छन् ।
























