मधेस प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १३, बिहीबार १३:३४

विराटनगर । मधेस प्रदेशसभाबाट मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल (सोनार)ले कात्तिक २२ गते विश्वासको मत लिने छन् ।

बिहीबार सत्तारुढ ७ दलको बसेको बैठकले विश्वासको मत लिने निर्णय गरेको बताइएको छ । बैठकमा मुख्यमन्त्री सोनलको उपस्थिति रहे पनि विश्वासको मत लिनेबारे प्रदेश सभालाई जानकारी गराइएको छैन ।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले सरकारमा सहभागी दलहरूको बैठकबाट कात्तिक २२ गते विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार विश्वासको मतका लागि कांग्रेस र एमालेसँग समेत आग्रह गर्ने तयारी भएको छ। सरकार गठन गर्ने बेला सबै कुरा स्पष्ट भएकाले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने, उनले बताए ।

सोनल ५ दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका हुन् । अहिले सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ।

यी दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ जना प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएको छ ।

१०७ सदस्यीय प्रदेश सभामामा तीन जना निलम्बन भएपछि १०४ जना प्रदेशसभा सदस्य कायम छन् । सोनल नेतृत्वको सरकारलाई बहुमतका लागि प्रदेशसभामा ५३ सदस्य आवश्यक छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.