
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेमा फर्कने सम्भावना रहेको सङ्केत गर्दै त्यसका लागि ‘समाजवादी क्रान्तिको बाटो’ अपनाउनुपर्ने मुख्य सर्त अगाडि सारेका छन्।
नेता खनालले आफूलाई एमालेप्रति भावनात्मक माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘सुस्थिर चिन्तन’ नदेखिएको भन्दै कडा आलोचना गरे। एमालेसँग वैचारिक एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उनको ठहर छ।
नेता खनालले एमाले फर्कनका लागि चारवटा आधारभूत वैचारिक सर्तहरू अगाडि सारेका छन्, जसलाई वार्ताको आधार बनाउन सकिने उनले बताएका छन्। खनाल भन्छन्, “एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ। जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ।”
खनालका सर्त
१. मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने: विचारमा मात्र होइन, व्यवहारमा पनि मार्क्सवादी बन्नुपर्ने।
२. समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउने: पुँजीवादी जनवादी क्रान्ति पूरा भइसकेकाले अब समाजवादतर्फको रूपान्तरणको चरणमा प्रवेश गर्नुपर्ने।
३. नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्ने: मार्क्सवादको ढाँचालाई नेपाली यथार्थ (कृषक, श्रमिक र युवाको मिश्रित वर्ग संरचना) मा रूपान्तरण गर्नुपर्ने।
४. देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प: आर्थिक निर्भरता र राष्ट्रिय स्वाभिमानको ह्रासविरुद्धको सङ्घर्षमा प्रतिबद्ध हुनुपर्ने।
यी चार बुँदामा एकरूपता देखिएमा तत्काल वार्ता सुरु गर्ने उनी स्पष्ट पारेका छन्।
एमालेलाई आफ्नो ‘जीवनको वैचारिक सन्तान’ बताउँदै भावनात्मक माया रहेको उल्लेख गरे पनि खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति भने असन्तुष्टि पोखे। “एमालेभित्र सुस्थिर चिन्तनको हामी अपेक्षा गर्छौँ। तर ओलीजीमा त्यो सुस्थिर चिन्तन विकसित हुन सकेको छैन,” खनालको भनाइ छ। उनको आलोचना एमालेको प्रचारमुखी, अवसरवादी र व्यक्तित्व–केन्द्रित प्रवृत्तितर्फ लक्षित थियो।
एमालेसँग वैचारिक एकता नभएको खण्डमा खनाल समूह नयाँ बाटोमा अघि बढ्न तयार छ। उनले “हामी नयाँ ढङ्गले पुनर्गठित हुँदैछौँ। नयाँ पार्टी निर्माण गर्नु अवश्यम्भावी छ” भन्दै माओवादी केन्द्रभित्रको पुनर्गठन प्रयाससँग पनि निकटता सम्भव रहेको सङ्केत दिएका छन्।
























