
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गते विशेष महाधिवेशन आयोजना गर्नुपर्ने औपचारिक प्रस्ताव पेस भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र देखिएको तीव्र दबाबलाई सम्बोधन गर्दै छोटो समयमै अधिवेशन सम्पन्न गर्ने गरी मिति प्रस्ताव गरेका हुन् ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै आचार्यले कात्तिक २१ गते भइसकेको अवस्थामा चुनावको तयारीलाई असर नपर्ने गरी विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिए । ‘नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार मंसिर २४ गते, जुन दिन मंगला देवी सिंहको जन्म जयन्ती पर्छ, त्यस दिनबाट सुरु हुने गरेर विशेष महाधिवेशन आयोजना गरौं,’ केन्द्रीय सदस्य आचार्यले बैठकमा प्रस्ताव गरे ।
आचार्यले यो प्रस्ताव पार्टीका महाधिवेशन प्रतिनिधिहरूको ठूलो हिस्साको मागमा आधारित रहेको बताएका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए ।
आचार्यको भनाइअनुसार, यही हस्ताक्षरलाई आधार मानेर तत्काल विशेष महाधिवेशन गर्न सकिन्छ । केन्द्रीय सदस्य आचार्यले चुनाव नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक कलह बढाउनु जायज नभएको भन्दै एकता कायम गर्न विशेष महाधिवेशन आवश्यक रहेको तर्क गरे। उनले भने, ‘चुनावको सम्मुखमा छौं। धेरै साथीहरूको बीचमा घर्षण पैदा गरेर, प्रतिष्ठा स्पर्धा पैदा गरेर ‘तँ र म’ भनेर जान जायज पनि छैन। चुनावको तयारीका लागि प्रशस्त समय दिनु छ र चुनावलाई पहिलो प्रायोरिटी बनाएर जानु छ।’
सहमहामन्त्री महेन्द्र यादवले समेत बैठकमा महामन्त्रीहरूलाई लक्षित गर्दै महाधिवेशनको कार्यतालिका ल्याइएकोमा असन्तुष्टि जनाउँदै विशेष महाधिवेशनको प्रस्तावमा समर्थन जनाएका छन्। यसले पार्टीभित्र शीर्ष नेताहरूबीचको विवाद समाधान गर्न विशेष महाधिवेशन अपरिहार्य रहेको संकेत गर्छ।
























