
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) बाट अलग भएकी नेतृ रामकुमारी झाँक्री चार वर्षपछि नेकपा (एमाले) मै फर्किएकी छन् । उनीसँगै नेता कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेताहरू पनि एमालेमा समाहित भएका छन् ।
एमाले विभाजन हुँदा २०७८ सालमा एकीकृत समाजवादीतिर लागेका यी नेताहरू सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत एमाले प्रवेश गरेका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले झाँक्री, श्रेष्ठ र अन्य नेताहरूलाई एमालेको चुनाव चिन्ह सूर्य प्रदान गरेर पार्टीमा स्वागत गरे ।हालै मात्र एकीकृत समाजवादीले माओवादीलगायतका पार्टीहरूसँग एकता गर्ने निर्णय गरेपछि त्यसप्रति असन्तुष्ट रहेको झाँक्री समूहले एमालेमै फर्किने निर्णय गरेको हो ।
झाँक्री र श्रेष्ठसँगै कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटा लगायतका पूर्व एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूलाई पनि अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे ।
























