
काठमाडौं । नेपाली कांग्रेस पार्टीमा जेनजी पुस्ताको सहभागिता सुनिश्चित गर्न विधान संशोधन गर्नुपर्ने केन्द्रीय सदस्य भीम पराजुलीले बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठक उनले विधान संशोधनका लागि आगामी पुसभित्र पार्टीको विधान अधिवेशन आयोजना गर्नुपर्ने बताएका हुन् ।
पार्टीको नियमित महाधिवेश गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विवाद छ । तर, पराजुलीले भने विधान अधिवेशन गर्नुपर्ने बताए ।
‘मंसिर–पुसभित्रै पार्टीको विधान अधिवेशन गरी पार्टीको स्थानीय नेतृत्वदेखि केन्द्रीय नेतृत्वसम्मका आठै तह तथा क्रियाशील वितरणमा जेनजी र युवाको न्यूनतम ३० प्रतिशत सहभागिता सुनिश्चित हुने गरी विधानमा आवश्यक संसोधन परिमार्जन गरौँ,’ उनले भनेका छन् ।
उनले आगामी पुसभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरेर केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति निर्धारण गनुपर्ने बताए ।
‘पुसभित्र क्रियाशील नवीकरण गर्ने तथा नयाँ क्रियाशील वितरण सम्पन्न गरौं,’ केन्द्रीय सदस्य पराजुलीले भने, ‘तत्पश्चात केन्द्रीय कार्यसमितिको बैठक डाकी आगामी फागुन २१ मा आमनिर्वाचन हुने–नहुने परिस्थिति आकलन गरी केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरौँ ।’
























