
विराटनगर । कोशी प्रदेशमा मन्त्री फेरबदलको तयारी तीव्र बनेको छ । पुरानालाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने अन्तिम तयारी भइरहेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलहरूसँग छलफल गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै पक्षका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेका छन् । कार्कीले हालका केही मन्त्रीहरूले मन्त्रालयगत काममा ठोस नतिजा दिन नसकेकाले नयाँ ‘रिजल्ट दिने मन्त्री’ नियुक्त गर्न खोजेका हुन् ।
भदौको मध्यतिर नै मन्त्री परिवर्तनको छलफल भए पनि कांग्रेसको ढिलासुस्तीका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । अब कांग्रेसले नमाने पनि एमालेबाट भने मन्त्री फेर्ने ‘मुड’मा मुख्यमन्त्री पुगेका छन् ।
मुख्यमन्त्री कार्कीले मंसिरको पहिलो हप्तासम्म नयाँ मन्त्री नियुक्त गर्ने अन्तिम तयारी थालेका छन् । उनको भनाइमा जनतालाई नतिजा दिने चरणमा सरकार प्रवेश गर्न चाहन्छ ।
कार्कीले अनौपचारिक छलफलमा एमालेका केही मन्त्रीहरूले पनि मन्त्रालयगत काममा अपेक्षित उपलब्धि नदिएका कारण फेरबदल आवश्यक भएको बताएका छन् । उनले भने, ‘अब सरकार जनताको नजरमा नतिजा देखिने गरी काम गर्ने मोडमा जान्छ । परिणाम नदिनेहरूलाई घर पठाइन्छ ।’
सरकारभित्रको फेरबदलले कार्की नेतृत्वको सरकारलाई नयाँ रूप दिने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीको भनाइमा, ‘अब कोशीमा बोल्ने होइन, सरकारले काम गर्ने हो ।’
जेनेजी आन्दोलनका नाममा आगजनी, तोडफोड र लुटपाट गरेर प्रशासनिक संरचना कमजोर बनाइएको बताउँदै उनले हाल खरानी बनाइएको संरचनाबाट सेवा दिइरहेको प्रदेश सरकारलाई पुनः व्यवस्थित बनाउने तयारी भइरहेको उल्लेख गरे । ‘हाम्रा सबै संरचनाहरू जलेका छन् । तर, हामी अब परिणाम देखिने गरी अघि बढ्छौँ,’ उनले भने ।
मुख्यमन्त्री कार्कीले नेपालमा पछिल्लो राजनीतिक अस्थिरता र अव्यवस्थाको मूल कारण भूराजनीतिक प्रभाव भएको टिप्पणी गरे । उनले श्रीलंका र बंगलादेशमा देखिएको जस्तै संकट नेपालमा ल्याउने प्रयास भइरहेको बताए । ‘श्रीलंका र बंगलादेश जलेझैँ नेपाल पनि त्यस्तै योजनामा तानिएको छ,’ उनले भने, ‘यसमा आन्तरिक असन्तोष मात्रै नभएर बाह्य प्रभाव पनि छ ।’
उनले हालको सुरक्षा अवस्थाबारे पनि चिन्ता व्यक्त गर्दै प्रहरीको मनोबल निकै कमजोर भएको बताए । ‘आन्दोलनमा प्रहरीमाथि आक्रमण भयो । प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरियो । हतियार लुटियो । त्यही भएर सुरक्षामा थ्रेट बढेको छ । प्रहरीको मनोबल शून्य जस्तै छ । प्रहरीको मनोबल उकास्दै नागरिकको सुरक्षा अहिलेको मुख्य विषय हो,’ उनले भने ।
मुख्यमन्त्रीले राजनीतिक निकासका लागि संविधान संशोधन र सुधारको साझा अभियानमा एमाले र कांग्रेस दुवै दलले एकसाथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार चुनावले मात्र स्थायित्व ल्याउँछ भन्ने ग्यारेन्टी छैन । त्यसका लागि दलहरूले जिम्मेवारीपूर्वक आत्मसुधार गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।
























