
काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका नेता जनार्दन शर्माले सुदन किराँतीलाई अघि सारेका छन् । माओवादी केन्द्रसहित ११ दलको एकतामा समाहित हुन नमानेका शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए । अभियानको केन्द्रीय संयोजन समितिको नेतृत्वमा किराँतीलाई अघि सारेका हुन् ।
पूर्वमाओवादीका केन्द्रीय सदस्य, विद्यार्थी नेतादेखि पूर्वजनमुक्ति सेना, वाईसीएल, पत्रकार लगायतलाई समेटेर ३१ सदस्यीय संयोजन समिति बनाइएको हो ।
अभियानको तर्फबाट पत्रकार सम्मेलन गर्दै किराँतीले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताए । पत्रकार सम्मेलनका क्रममा बोल्दै पूर्वमन्त्री सुदन किराँतीले फागुन २१ मा कुनैपनि हालतमा निर्वाचन हुनुपर्ने बताए ।
नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको उनले बताए । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने उनको भनाइ छ । किराँतीले नेपालमा असमानता, गरिबीको अन्त्य गर्न चाहनेहरुसँग एकता हुने बताए । नेपाली कम्युनिस्ट पार्टीसँग कुनै एकता नहुने उनको दाबी छ । आजको आवश्यकता रुपान्तरण र पुस्तान्तरणको भएको पनि उनले बताए ।
























