
जनकपुरधाम । मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा मधेश प्रदेशमा राजनीतिक संकट बढेको छ । मुख्यमन्त्री नियुक्तिको विरोध गर्दै आएका ७ दलका सांसदले आइतबार पनि सडकमा धर्ना दिएका छन् ।
नेपाली कांग्रेससहित ७ दलका सांसदहरू मधेश प्रदेशसभा भवनअगाडि बाटो छेकेर धर्नामा बसेका छन् । सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेशसभा परिसरको चौरमा प्रदेशसभा बैठक राखेका थिए ।
गत कात्तिक २४ गते तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । साथै, होटेलमा शपथ खुवाएपछि ७ दलले निरन्तर विरोध गरिरहेका छन् ।
७ दलका सांसदहरुले मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । उनीहरूले मधेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पनि महाअभियोग दर्ता गराएका छन् ।
मधेशमा मुख्यमन्त्रीको नियुक्ति र शपथविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ हुने छ ।
























