
काठमाडौं । विवादास्पद पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा ‘नागरिक बचाउ’ दल खुलेको छ । दलको केन्द्रीय समिति २७ सदस्यीय प्रस्ताव गरिएको छ ।
निर्वाचन आयोगमा दल दर्ताको निवेदनसमेत दिइएको छ । पार्टीको सभापतिमा झापाका ५० वर्षीय माधवप्रसाद खतिवडा र उपसभापतिमा काठमाडौंका ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन् ।
महामन्त्रीमा झापका प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्रीमा नवलपरासी पूर्वका विष्णु बोहोरा क्षेत्री, कोषाध्यक्षमा मोरङकी सुष्मा रेग्मी रिजाल र प्रवक्तामा पाल्पाका प्रेम थापा मगर रहेका छन् । पार्टीले माथि सेतो, तल रातो र बीचमा तारा अंकित चारकुने झण्डा प्रस्ताव गरेको छ ।
चुनाव चिह्न भने मान्छेको जोडी पाइला प्रस्ताव गरिएको नेताहरुले बताएका छन् । सभापति खतिवडाले पार्टी नै भुइँ मान्छेको भएकाले जोडी पाइला चुनाव चिन्ह रोजिएको बताए ।
पार्टीको पदाधिकारी र केन्द्रीय समितिमा दुर्गा प्रसाईको नाम भने छैन । प्रसाईंको नाम उल्लेख नगरिएको सन्दर्भमा सभापति खतिवडाले महत्त्वपूर्ण व्यक्तिले पर्दा पछाडि बसेर नै भूमिका खेल्ने बताए ।
दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगिसकेको छ । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । प्रसाईंले उक्त अभियानसँग मिल्ने गरी दलको नाम राखेका हुन् ।
पार्टीमा रहेका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताका लागि निवेदन दिने आइतबार अन्तिम दिन हो ।
दुर्गा प्रसाईं सरकारसँग विभिन्न माग राखेर अभियानमा छन् । यही कात्तिक १४ गते प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँग छलफल गरेकी थिइन् । त्यसबेला प्रधानमन्त्री कार्कीले झापामा पुराना नेता कमजोर भएको र दुर्गा प्रसाईं आउन सक्ने सम्भावना रहेको सुनाएकी थिइन् ।

























