केपी ओली भन्छन्, ‘वर्तमान सरकारको पहिचान नै अस्पष्ट’

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ३०, आइतबार १५:४७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा अहिले सञ्चालनमा रहेको सरकार कसरी र कहाँबाट बनेको हो भन्ने विषय नै अस्पष्ट रहेको बताएका छन् ।

उनले यो सरकार संविधान, संसद, राजनीतिक दल र जनताबाट नबनेको दाबी गर्दै यसको वैधानिक आधार नै नदेखिएको टिप्पणी गरे । आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारी नेपालको टिमसँग भएको छलफलमा ओलीले वर्तमान सरकारलाई ‘बेवारिसे संरचना’जस्तै रहेको टिप्पणी गर्दै सरकारको पहिचानबारे गम्भीर प्रश्न उठाएका हुन् ।

उनले भने, ‘जेनजी भन्छ—यो मेरो सरकार होइन । दल भन्छ— हाम्रो होइन । संसद भन्छ— म चिन्दिन । संविधान भन्छ—मेरो प्रावधानमा यस्तो सरकार नै छैन । अब यो सरकार कसको हो ?’ कुनै सरकारलाई मान्यता दिने सबै आधारहरूले नै अस्वीकार गर्छन् भने त्यो संरचना वैधानिक र राजनीतिक रूपले जवाफदेही हुन नसक्ने ओलीको तर्क छ ।

ओलीले देशभरको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्नलाई सरकारले संरक्षण दिएको दाबी पनि गरे । उनका अनुसार विभिन्न नामका समूह खडा गरेर सरकार स्वयंले राजनीतिक वातावरण अस्थिर बनाउने नाटक गरिरहेको छ ।

उनले भने, ‘२४ गतेका विध्वंसकारीहरूलाई नपक्रन ज्ञापनपत्र बुझाउने, कहिले केपी ओली र रमेश लेखकलाई समात्नुपर्छ भनेर नयाँ समूह खडा गर्ने काम भइरहेको छ । यी स्वतन्त्र गतिविधि होइनन् । सरकार आफैंले स्क्रिप्ट लेखेर, आफैंले ज्ञापनपत्रको ड्राफ्ट बनाएर, आफैंले बुझाउने नाटक मात्र हो ।’ उनले ती गतिविधिका सम्पूर्ण अभिलेख आफूहरूसँग रहेको समेत दाबी गरे ।

अध्यक्ष ओलीले मुलुक अहिले संवैधानिक अनिश्चिततामा फसेको बताउँदै समाधानको एक मात्र मार्ग संसद पुनर्स्थापना भएको दोहोर्याए । उनका अनुसार असंवैधानिक र अनधिकृत शैलीमा विघटन गरिएको संसदलाई पुनर्स्थापना गरेर मात्रै देशलाई वैधानिक मार्गमा फर्काउन सकिन्छ ।

निरन्तर संसद विघटन गर्ने प्रवृत्ति चलिरहे गलत नजिर बस्ने भन्दै ओलीले अहिले नै संवैधानिक अभ्यासलाई सही दिशामा फर्काउनु पर्ने आवश्यकता औंल्याए । छलफलका क्रममा ओलीले प्रेस स्वतन्त्रताको अवस्थाबारे पनि टिप्पणी गर्दै वर्तमान सरकारले सञ्चारमाध्यमप्रति पञ्चायती शैली अपनाएको आरोप लगाए ।

उनका अनुसार पत्रकारितामा खुला वातावरण हराउँदै गएको छ र पत्रकारहरू ‘सेल्फ सेन्सरसिप’ गर्न बाध्य छन् । उनले भने, ‘संविधानमा प्रेस स्वतन्त्रता छ । तर, व्यवहारमा छैन । पत्रकारले देखेको कुरा लेखे सरकारबाट खतरा हुन्छ । अनुसन्धान गरेको विषय उठाए दण्डको डर हुन्छ । यही वातावरणले पत्रकारिता कमजोर बन्दै गएको छ ।’

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले छलफलमा सञ्चारमाध्यमको वर्तमान चुनौती, पत्रकारको सुरक्षासम्बन्धी समस्या र संगठनका गतिविधिबारे विस्तृत जानकारी गराएका थिए । ओलीले ती समस्याहरू गम्भीर रूपमा सुनेर पत्रकारितामाथि सरकारले बनाइदिएको भय वातावरणले लोकतन्त्रको आत्मालाई नै क्षति पुर्याउने टिप्पणी गरे ।

ओलीका कुराले वर्तमान सरकारको वैधानिकता, पारदर्शिता र राजनीतिक आधारबारे उठेका प्रश्नलाई थप बलियो बनाएको देखिन्छ । सरकारको पहिचानमै स्पष्टता नभएको परिस्थितिमा देश सुशासन, कानुनको पालना र स्थिरताको दिशामा अघि बढ्न नसक्ने उनले बताए । ‘मुलुक संवैधानिक मार्गबाट भड्किने संकेत देखिन्छ । अब संसद पुनर्स्थापनाको विकल्प छैन,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.