
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले देशभर आफ्नो संरचना र राजनीतिक दिशाबारे सार्वजनिकरूपमा अवगत गराउने उद्देश्यसहित सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने तयारी गरेको छ ।
पेरिसडाँडामा बसेको पूर्वपदाधिकारीहरूको बैठकले यो विषयलाई औपचारिक निर्णयका रूपमा अघि सारेपछि पार्टीभित्र संगठनात्मक सक्रियता तीव्र रूपमा बढेको देखिन्छ । बैठकले नयाँ संरचना बनेपछि पार्टीलाई देशव्यापी रूपमा परिचित गराउन आवश्यक राजनीतिक सन्देश जनस्तरसम्म पुर्याउन प्रदेश–प्रदेशमा सभा आयोजना गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
यसका लागि आवश्यक समन्वय, तयारी र कार्यक्रमको रूपरेखा बनाउन जिम्मेवारीसमेत तोकिएको बताइन्छ । पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय भइसकेको र अब कार्यक्रमको मिति तथा स्थान टुंगो लगाउने प्रक्रिया बाँकी रहेको जानकारी दिए ।
उनका अनुसार सोमबार बेलुकीसम्ममा सबै प्रदेशका सभाको मिति, स्थान र आयोजनाको विस्तृत विवरण तयार गरी औपचारिक रूपमा सार्वजनिक गरिनेछ । पाण्डेले सभाहरूले नवगठित पार्टीको नीतिगत स्पष्टता, संगठनात्मक योजनाहरू, आगामी राजनीतिक लक्ष्य तथा कार्ययोजनालाई जनसमक्ष प्रस्तुत गर्ने बताए ।
सन्देश सभालाई पार्टी एकतापछि पहिलो ठूलो संगठनात्मक कार्यक्रमका रूपमा हेरिएको उनको भनाइ छ । बैठकमा सहभागी नेताहरूले सातै प्रदेशमा हुने सभाबाट पार्टीभित्रको एकता, राजनीतिक प्रतिबद्धता र जनताप्रति उत्तरदायित्व प्रस्ट रूपमा देखिने विश्वास व्यक्त गरेका छन् ।
सभाको तयारीका लागि प्रदेश तहका कमिटीहरूलाई सक्रिय गराइएको र आवश्यक समन्वयात्मक काम तीव्र रूपमा अघि बढाइएको बताइन्छ । नवगठित पार्टीले सुरुआती चरणमै देशव्यापी अभियानको घोषणा गरेकोले यसलाई राजनीतिक वृतमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
























