प्रतिनिधिसभा निर्वाचनका लागि १२ दल दर्ता

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १, सोमबार १८:२०

काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि १२ दल दर्ता भएकाे छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहित १२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन् । आयोगले सोमबारबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरु गरेको हो ।

पहिलो दिन दर्ता भएका दलमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा चौथो नम्बरमा दर्ता भएको छ । नेकपाका तर्फबाट राजेन्द्रप्रसाद पाण्डेसहितका नेता–कार्यकर्ता सोमबार आयोगमा पुगेर दल दर्ता प्रक्रिया पूरा गरेका थिए ।

निर्वाचन प्रयोजनका लागि दर्ता हुने पहिलो दल भने बुद्धलाल मेचे नेतृत्वको मंगोल नेशनल अर्गनाइजेशन हो । पार्टीका प्रतिनिधि सन्तोष तामाङ सोमबार बिहानै आयोग पुगेर दल दर्ता गराएका थिए ।

दोस्रो नम्बरमा विश्वेन्द पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, तेस्रो नम्बरमा अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी दर्ता भएका छन् ।  मेघबहादुर कामी नेतृत्वको नेपाल मानवतावादी पार्टी, सन्ध्या खनाल नेतृत्वको देश विकास पार्टी, दुर्गा सोव नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी दर्ता भएका छन् ।

द्रोण अधिकारी नेतृत्वको देशभक्त समाज पार्टी, गीता क्षेत्री नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी, नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको छ । प्रभु साह नेतृत्वको आम जनता पार्टी दर्ता भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन इच्छुक दलले मंसिर १० गतेभित्र दर्ता गरिसक्नुपर्ने सूचना आइतबार सार्वजनिक गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.