
काठमाडौँ । नेकपा (एमाले) को विघटित प्रतिनिधि सभाका सांसदहरूको महत्वपूर्ण बैठक आज (मंगलबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सुरु हुने यस बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था र संसद विघटनको विषयमा गहन छलफल हुने बताइएको छ ।
एमालेले अन्तरिम सरकारको सिफारिसमा भएको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै यसको पुनःस्थापनाको मागसहित अदालत जाने निर्णय गरिसकेको छ । आजको बैठकमा सो निर्णय कार्यान्वयनको प्रक्रिया र भावी रणनीतिबारे छलफल केन्द्रित हुनेछ ।
एमाले अदालत जाने तयारीमा रहे पनि अन्य राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा जुटेका छन् । देशको राजनीतिक ध्रुवीकरण बढेका बेला एमालेको यो बैठकले लिने निर्णयलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
बैठकमा संसद विघटनको सन्दर्भसहित देशका पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने र थप रणनीति तय हुने अपेक्षा गरिएको छ ।
























