
जनकपुरधाम । पछिल्लो विकसित राजनीतिक घटना क्रमका कारण मधेशमा आलोचित बनेको नेकपा (एमाले)का नेता कार्यकर्ताले मधेश प्रदेशमा मंगलबार धर्ना दिएका छन् ।
नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई काम गर्न दिनुपर्ने माग गर्दै एमालेले धर्ना दिएको हो । अरु दलका सांसदको अवरोधका कारण मुख्यमन्त्रीले काम गर्न नपाएपछि एमालेले दबाब दिएको हो ।
एमालेका नेता कार्यकर्ताले जनकपुरको जनकचोकमा ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायत लेखिएको ब्यानर राखेर नारा लगाउँदै धर्ना दिएका हुन् । यादवले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गत कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त भएर शपथ लिएका थिए ।
उनको शपथ होटलमा भएपछि ७ दलीय गठबन्धनका सांसदले विरोध गर्दै आएका छन् । जसका कारण उनले काम गर्न पाएका छैनन् । नियुक्ति र शपथ होटलमा गरिएपछि एमालेको आलोचना हुँदै आएको छ ।
मुख्यमन्त्रीको नियुक्ति र शपथको विरोधमा ७ दल सम्मिलित गठबन्धनले मधेश प्रदेशसभाअगाडि धर्ना दिँदै आएको छ । सरकार गठन अवैधानिक रहेको भन्दै बदरको माग राखेर मंगलबार पनि सांसदहरु धर्नामा बसेका छन् ।
























