
विराटनगर । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर उत्पन्न विवादका कारण समर्थक र विपक्षी दुवै पक्ष आन्दोलनमा उत्रिएका छन् । विपक्षी दलहरूले मुख्यमन्त्री नियुक्तिको विरोधमा धर्ना लगायतका कार्यक्रमहरू जारी राखेको समयमा मुख्यमन्त्रीका समर्थक तथा एमालेका नेता-कार्यकर्ताहरू पनि धर्नामा उत्रिएका हुन् ।
मुख्यमन्त्रीको काममा विपक्षी दलहरूले अवरोध सिर्जना गरेको भन्दै एमालेका नेता-कार्यकर्ताहरूले जनकपुरधामस्थित जनक चोकमा धर्ना दिएका छन् । ‘संविधानलाई रक्षा गरौँ र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ’ भन्दै आफूहरू धर्नामा बसेको एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले बताए ।
ख्यमन्त्रीका समर्थकहरूको आरोप छ, सर्वोच्च अदालतमा रिटको सुनुवाइ जारी रहेको समयमा ७ दलीय गठबन्धनले धर्ना तथा आन्दोलनको कार्यक्रम गरेर मुख्यमन्त्री यादवको काममा अवरोध सिर्जना गरिरहेका छन् ।
यता, सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ दलीय गठबन्धनले पनि मुख्यमन्त्री नियुक्तिको विरोधमा आफ्नो आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएको छ । उनीहरूले आज (मंगलबार) नवौँ दिन पनि धर्ना कार्यक्रमलाई जारी राखेका छन् । नवौँ दिन उनीहरू मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनको मुख्य ढोकामा नै धर्नामा बसेका छन्।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक संकटमा फसेको र मधेसमा पनि एमाले नेतृत्वकै इशारामा अस्थिरता निम्तिएको आरोप लगाए । उनले आफूहरू मधेसमा राजनीतिक अस्थिरताको अन्त्य होस भन्ने उद्देश्यका साथ आन्दोलनमा रहेको बताए । ७ दलले मधेसमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण गरेको भन्दै आन्दोलन थालेका हुन् ।
मुख्यमन्त्री नियुक्तिको विवाद सम्बन्धी रिटको सुनुवाइ आज (मंगलबार) न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदै छ । स्मरण रहोस्, कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले उक्त सरकार गठन संवैधानिक नरहेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । गत मंगलबार सर्वोच्चले मुख्यमन्त्री नियुक्त यादवलाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेशसमेत जारी गरेको थियो ।
























