कांग्रेसमा विशेष महाधिवेशनको बहस : तत्काल मिति र स्थान तोक्न माग

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १८:५१

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले पार्टीको आगामी महाधिवेशन तत्काल आयोजना गर्नुपर्ने माग उठाएको छ । पछिल्लो समय कांग्रेसमा विशेष महाधिवेशनको बहस चलिरहेको छ ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेताहरुले पार्टी विधानको धारा १७, उपधारा ९२० बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्न जोड दिएका हुन् । विशेष महाधिवेशनको माग गर्ने करिब ५५ प्रतिशत हस्ताक्षरकर्ताले निर्वाचनअघि पार्टीको नयाँ नेतृत्व चयन गर्न महाधिवेशन अनिवार्य हुनुपर्ने प्राथमिकता आफूहरुको रहेको बताएका छन् ।

कांग्रेस नेता गुरुराज घिमिरेले भने, ‘पार्टीको विधान अनुसारको मागलाई प्रारम्भदेखि उपेक्षा गर्ने, औपचारिक एजेन्डामा समावेश नगर्ने र लम्बाइ दिने प्रवृत्तिप्रति हामी गम्भीर आपत्ति राख्छौं ।’ उनले पार्टीभित्र मंसिरभित्रको १५ औँ नियमित महाधिवेशन समेत टार्न अनावश्यक बैठक लम्बाइएको आरोप लगाउँदै फागुन २१ का लागि निर्धारित निर्वाचन अघि नयाँ नेतृत्व चयन गरेर नयाँ नीति र ऊर्जासहित निर्वाचनमा प्रवेश गर्नुपर्ने आवश्यकता बताए ।

घिमिरेले पार्टीबाट बिदा हुन चाहने सभापति शेरबहादुर देउवालाई जबरजस्ती राजनीतिमा तान्ने प्रयास भइरहेको पनि बताए । साथै, केही नेताहरूले महाधिवेशनलाई डेढ वर्षसम्म ढिलाइ गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले यसप्रति सचेत रहन पार्टीका सबै तहका कार्यकर्तालाई आग्रह गरेका छन् ।

विशेष महाधिवेशन पक्षधर समूहले महाधिवेशन प्रतिनिधिहरूलाई विशेष वैधानिक अधिकार रहेको र विधानले तोकेको अवधिभित्र महाधिवेशनको सुनिश्चित गर्नुपर्ने बताएको छ । कांग्रेसभित्रको यस गतिरोधले आगामी निर्वाचन र पार्टीको आन्तरिक राजनीतिक परिस्थिति अझ संवेदनशील बनाउने देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.