
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चौथो पटक स्थगित भएको छ । गत असोज २८ गते बाट सुरु भएर बिहीबारसम्म केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम सकिएपछि विवाद समाधानका लागि अनौपचारिक छलफलको प्रयासस्वरूप तीन पटक सारिएको बैठक आज (बिहीबार) पनि सूचना टाँसेर स्थगित गरिएको हो ।
पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेल ले बिहीबार सूचना जारी गर्दै बैठक मंसिर ६ गते शनिबार दिउँसो १:०० बजेसम्म का लागि सारिएको जानकारी दिएका छन् । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कांग्रेस बैठक पटकपटक सर्नुको मुख्य कारण आगामी महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरण नहुनु हो । गत बिहीबार केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको मिति टुंगो लगाउन अनौपचारिक छलफल र सहमतिको प्रयास गर्ने भन्दै बैठकलाई सुरुमा शुक्रबार, त्यसपछि शनिबार दिउँसो २ बजेसम्मका लागि सारेका थिए ।
शनिबारसम्म पनि आन्तरिक प्रयासमा कुरा नमिलेपछि बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि सारियो । सोमबारसम्म पनि कार्यवाहक सभापति खड्काको प्रयासले कुनै काम नगरेपछि बैठक एकैपटक मंसिर ४ गते बिहीबार (आज) का लागि सारिएको थियो । तर, आज पनि सहमतिको बिन्दु पत्ता नलागेपछि बैठक फेरि सार्दै मंसिर ६ गते शनिबारका लागि बोलाइएको हो ।
























