
काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग सशक्त रूपमा उठिरहेका बेला यस पक्षधरले केन्द्रीय समितिको बैठकअघि आज (बुधबार) विशेष भेला बोलाएको छ ।
केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशनको मिति तोकिनुपर्ने मागलाई अझ प्रभावकारी बनाउन दबाब सिर्जना गर्ने उद्देश्यले यो भेला आयोजना गरिएको नेताहरूले बताएका छन् ।
कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै पार्टीका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षरसहित गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई लिखित प्रस्ताव पेश गरेका थिए ।
विधान अनुसार, प्रस्ताव पेश भएको मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । भेलाको आज दिउँसो १ बजे, राष्ट्रिय सभा गृहमा हुने जनाइएको छ ।
भेलालाई सशक्त र प्रभावकारी बनाउन विशेष महाधिवेशन पक्षधर नेताहरू सक्रिय छन् । भेलामा जिल्ला सभापतिहरू, पुराना पुस्ताका नेताहरू, र नयाँ पुस्ताका प्रतिनिधिहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनको अगुवाइ गरेका नेता गुरुराज घिमिरेले भेला निकै प्रभावकारी हुने बताएका छन् ।
























