
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट अलग भई भर्खरै नेकपासँग एकता गरेका राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारबाट हेलिकप्टर चढेर भागेको भन्दै देशको नेतृत्व गर्न नसक्ने आरोप लगाएका छन्।
श्रेष्ठले तत्कालीन प्रधानमन्त्री ओलीले जेनजी युवाहरूलाई खिस्सिट्युरी गरेका कारण सत्ता छाड्नुपरेको दाबी गरे। “तत्कालीन प्रधानमन्त्री केपी ओलीले जेनजीलाई खिस्सिट्युरी गरेका थिए। जेनजीले बालुवाटार घेरेपछि हेलिकप्टर चढेर भागे। त्यस्ता व्यक्तिले देशको नेतृत्व गर्न सक्छ?” उनले प्रश्न गरे।
सोही कार्यक्रममा जसपाका अध्यक्ष अशोक राईले संविधान संशोधनभन्दा एमालेसँग मिल्न खोजिएकाले आफूले विद्रोह गरेको स्पष्ट पारे। “आगामी निर्वाचनमा संविधान संशोधनको एजेन्डा थियो, तर नेतृत्वले एमालेसँग तालमेल गर्ने योजना बनायो। त्यसकारण हामीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रोज्यौँ,” राईले भने। उनले जनयुद्ध र जनआन्दोलनको फ्युजनबाट २४० वर्षको राजतन्त्र ढलेको स्मरण गरे।
यस क्रममा राईले प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेको भन्दै जेनजीको भावना अनुसार भ्रष्टाचार विरुद्ध कारबाही गर्ने जिम्मेवारी अब नेपाली कम्युनिस्ट पार्टीको भएको बताए।
























