
विराटनगर । नेकपा एमाले मोरङका युवा नेता मुकेश बुढाथोकीले एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरेका छन् । विगत तीन दशकदेखि एमालेको राजनीतिमा सक्रिय रहेका बुढाथोकीले पहिलो पटक महाधिवेशन प्रतिनिधिका लागि मोरङ क्षेत्र नम्बर ४ बाट खुलातर्फ उम्मेदवारी दिएका हुन् ।
नेता बुढाथोकीले पार्टीमा नयाँ पुस्ता र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आफू अघि बढेको बताएका छन् । ‘अहिले जेनजी आन्दोलनको मुख्य एजेण्डा नै युवा सहभागिता हो । म पनि युवाहरूको प्रतिनिधि बनेर युवाको मुद्दालाई महाधिवेशनमा बुलन्द गर्न चाहन्छु,’ उनले भने,‘ आम पार्टी पंक्ति र मतदाताले मलाई विश्वास गर्नुहुनेछ भन्नेमा आशावादी छु ।’
नेकपा एमाले मोरङका प्रभावशाली युवा नेताको छबी बनाएका उनी जिल्लाको सचिवालय सदस्य हुन् । तत्कालिन कटहरी गाउँ विकास समितिबाट एमालेको राजनीति सुरु गरेका बुढाथोकी संगठनमा जुझारु नेताका रूपमा चिनिन्छन् ।
उनले २०६७ सालदेखि तीन कार्यकाल युवा संघ मोरङको सफल नेतृत्व गरिसकेका छन् भने युवा संघको केन्द्रीय लेखा समिति सदस्य हुँदै केन्द्रीय काेषाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
राजनीतिसँगै सामाजिक सेवामा पनि बुढाथोकी उत्तिकै सक्रिय छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि उनकै नेतृत्वमा १०० जना युवाको टोलीले भक्तपुर पुगेर एक महिनासम्म पुनर्निर्माणमा श्रमदान गरेको थियो । सिन्धुपाल्चोकमा राहत वितरणका लागि पनि उनकै नेतृत्वमा टाेली खटिएकाे थियाे ।
कोशी अस्पताल विकास समितिको सदस्यका रूपमा एक कार्यकाल काम गर्दा उनले अस्पताल सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
बुढाथाेकीसहित तत्कालिन विकास समितिकाे सक्रियतामा अस्पतालकाे जीर्ण संरचना पुननिर्माणकाे काम सुरू भएकाे थियाे । काेशी अस्पतालमा २ अर्ब १७ कराेड र ५५ कराेड लागतमा २ वटा अस्पताल भवन निर्माणाधीन छन् । अस्पतालकाे सेवा सुधारका निम्ति भूमिका निर्वाह गरेका बुढाथाेकीले अस्पतालकाे अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियान सञ्चालन गरेका थिए ।
करिब ३० वर्ष एमालेको संगठन निर्माणमा खटिएका बुढाथोकीले ११ औं महाधिवेशनमा युवाहरूको प्रतिनिधिको रूपमा जानका लागि सहयोगको अपेक्षा गरेका छन् ।
एमाले महाधिवेशन प्रतिनिधि छनोटका लागि मंसिर १३ गते निर्वाचन हुँदैछ । निर्वाचनमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यले मतदान गर्नेछन् ।
























