
विराटनगर । नेकपा एमालेको ११औं केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटका लागि मोरङमा मतदान जारी छ । महाधिवेशन प्रतिनिधि छनोटका लागि शनिबार बिहानैदेखि जारी मतदानमा दुई धारबीच प्यानल बनाएर कडा प्रतिस्पर्धा भइरहेको छ ।
मतदान प्रक्रियामा संस्थापन र इतर पक्षले आ-आफ्नो प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। रोचक त के छ भने, दुवै पक्षले भोट माग्ने शैली र प्रचार सामग्रीमा समेत सांकेतिक लडाइँ लडेका छन् । मतदानस्थलमा प्रतिनिधि र उम्मेदवारहरूले मतदातालाई आ-आफ्नो प्यानलको सूची थमाउँदै भोट मागिरहेका छन् ।

केन्द्रमा केपी शर्मा ओली निकट मानिने समूहले (केन्द्रीय संस्थापन) ले आफ्ना उम्मेदवारहरूको नामावलीको सिरानमा अध्यक्ष ओलीको तस्बिर राखेको छ । अर्कोतर्फ, मोरङ जिल्ला नेतृत्वमा पकड जमाएको विद्यादेवी भण्डारी समूहले (जिल्ला संस्थापन) ले भने आफ्नो प्रचार सामग्रीको माथिल्लो भागमा पार्टीको झन्डा र चुनाव चिन्ह राखेर भोट मागिरहेको छ ।
एमाले मोरङको राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिने विनोद ढकाल समूहको बलियो पकड छ । गत फागुनमा सम्पन्न १०औं जिल्ला अधिवेशनमा यही समूहले जित हासिल गरेकाले जिल्लामा उनीहरूलाई संस्थापन र केपी ओली समूहलाई इतर समूह भनिन्छ ।

महाधिवेशनका लागि मोरङबाट कुल ४६ जना प्रतिनिधि छनोट हुँदैछन् । ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ मा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यहाँ छानिएका ६ प्रतिनिधिमध्ये ४ जना भण्डारी समूहका छन् भने २ जना मात्र ओली पक्षका छन् । बाँकी ५ वटा निर्वाचन क्षेत्रमा भने दुवै समूह प्यानलसहित चुनावी मैदानमा छन् ।

यो प्रतिनिधि छनोटलाई केवल जिल्लाको रस्साकस्सीका रूपमा मात्र हेरिएको छैन । केन्द्रीय राजनीतिमा प्रभाव पार्ने भएकाले चासोका साथ मोरङको मतदानलाई हेरिएको छ । भण्डारी समूहबाट ११औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने संस्थापन पक्षबाट ओली नै उम्मेदवार हुनेछन् ।
























