
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले वर्तमान सरकारलाई दीर्घकालीन असर गर्ने कुनै पनि काम नगर्न आग्रह गरेका छन् ।
उनले चुनाव गराउनका लागि बनेको सरकारले दीर्घकालीन असर गर्ने काम गरिरहेको बताए । विशेषगरी विद्युत् व्यापार सम्झौता र अर्थ मन्त्रालयमा भएको ठूलो चलखेल प्रति उनले सचेत गराए ।
रावलले अन्तरिम सरकारलाई आफ्नो मुख्य जिम्मेवारी निर्वाचनको वातावरण बनाउनु भएको र दीर्घकालीन महत्त्वका सम्झौताहरू नगर्नु भनी जोड दिए ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली माथि टिप्पणी गर्दै रावलले देशको रक्षा गर्नुपर्ने बेला सेनाको हेलिकप्टर चढेर भागेको र अहिले गुण्डुबाट अराजक अभिव्यक्ति दिइरहेको आरोप लगाए ।
























