खोटाङ एमालेमा प्रतिनिधि छनोट विवाद: २८ नेताद्वारा संगठन विभागमा उजुरी

Share this
622shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १५, सोमबार १५:५१

विराटनगर । नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि खोटाङ जिल्लाबाट हुने प्रतिनिधि छनोट प्रक्रियामा अवरोध र अनुचित हस्तक्षेप भएको आरोप लगाउँदै जिल्लाका २८ जना नेताहरूले पार्टीको संगठन विभाग प्रमुखसमक्ष सामूहिक रूपमा उजुरी दिएका छन् ।

प्रतिनिधि चयनका क्रममा पार्टीभित्र गुटीय गतिविधि बढेको, निष्पक्ष प्रतिस्पर्धामा अवरोध पुर्‍याइएको, जिल्ला नेतृत्वले अनुचित हस्तक्षेप गरेको जस्ता आरोप उनीहरुको छ । खोटाङको दिक्तेल–१४ का वडाध्यक्ष तथा एमाले नेता दिनेश राईले जिल्लाका अध्यक्ष देवबिक्रम राई र जिल्ला इन्चार्ज विशाल भट्टराईले प्रतिनिधि छनोट प्रक्रियामा योजनाबद्ध अवरोध गरेको आरोप लगाएका छन्। यस कार्यले पार्टीको आन्तरिक लोकतान्त्रिक पद्धति कमजोर बनेको र महाधिवेशनमा सहभागी हुने अवसर नै प्रभावित भएको छ।

जिल्लास्तरका विभिन्न कमिटीका नेताहरू, राष्ट्रिय युवा संघ र एमाले सम्बद्ध अन्य संगठनका प्रतिनिधिहरू गरी २८ जना नेताहरूले हस्ताक्षर गरेर उजुरी दिएका छन्। उनीहरूले लोकतान्त्रिक विधि र पारदर्शितामा आधारित प्रतिनिधि छनोट सुनिश्चित गर्न माग गर्दै संगठन विभागसँग तत्काल हस्तक्षेप गरी समस्या समाधान गर्न आग्रह गरेका छन्।

यता, एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईले प्रतिनिधि छनोटमा जिल्ला कमिटीबाट कमजोरी भएको स्विकार गरेका छन्। उनले आफू लोकतान्त्रिक विधिबाटै प्रतिनिधि छनोटको पक्षमा उभिएको बताएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.